१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मैत्रीपूर्ण फुटबलः नेपाल र बंगलादेश आज भिड्दै

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ०५:०४

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल आज अपरान्ह ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २–१ गो अन्तरको जित हाँसिल गरेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह एफ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ तदनुसार असोज २ मा हुनेछ। त्यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ तदनुसार असोज ५ मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ तदनुसार असोज ८ मा हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।