८ बैशाख २०८१, शनिबार
Follow Us

सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:११

सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ । सोमबार अपराह्न २:३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । संसद्को चालू अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । आज पनि एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन् ।

बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । छलफलले कुनै निष्कर्ष निकाल्न सकेन ।

१५ मिनेट स्थगित भएर बैठक सुरु भए पनि एमालेको अवरोधका कारण अगाडि बढ्न सकेन । संसद् बैठक यही भदौ २९ गते सम्मका लागि स्थगित छ । एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन दिएको भन्दै बैठक अवरोध गर्दै आएको छ ।