१२ बैशाख २०८१, बुधबार
Follow Us

संसदमा प्रतिपक्षको प्रतिवाद गर्दै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:२५

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको विरोधलाई प्रतिवाद गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गठबन्धनको बैठकमा संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर संसद अवरोध गर्दै आएपछि संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताइएको थियो । यसअघिको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ ।

एकीकृत समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा समस्यामा पर्नु भएको छ । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहनु भएको छ । आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा भने छलफल नभएको एक नेताले जानकारी दिए ।