१२ बैशाख २०८१, बुधबार
Follow Us

यमुनाले गरिन् सगुनमा ५ लाख डलर लगानी

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७८, आईतवार २१:०७

अमेरिका । संयुक्त राज्य अमेरिकाको टेक्सास, ड्यालसमा बसोबास गर्ने एक सफल व्यवसायी यमुना भट्टराई सगुन अभियानमा जोडिएकी छन् । भट्टराईले सगुनमा ५ लाख अमेरिकी डलर लगानी गरेकी छन् ।

सगुनको दीर्घकालिन भिजन, बलियो टिमका साथै यसले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु देखेर आफू लगानीको लागि प्रेरित बनेको यमुनाले बताएकी छन् ।

‘सगुन परिवारसंग जोडिन पाउँदा मलाई साह्रै खुशी लागेको छ र मलाई सगुनमा लगानी गर्ने यो अवसर दिनु भएकोमा म सगुनका संस्थापकहरुलाई धन्यवाद दिन चाहन्छु’, ५ लाख डलर लगानीको रहस्य खुलाउँदै उनले भनेकी छन्, ‘मैले एउटा स्टार्ट अप कम्पनीमा लगानी गरुंला भनेर कहिल्यै सोचेकी थिइन, तर सगुनको दीर्घकालिन भिजन, बलियो टिम, विशिष्ट प्राविधिक पक्ष, हालै भएका उपलब्धिहरु र भरपर्दो भावी व्यापार योजना देख्दा म सगुन सफल हुनेमा पूर्ण विश्वस्त छु ।’

सगुनले पनि भट्टराईलाई आफ्नो अभियानमा जोड्न पाउँदा खुशी व्यक्त गरेको छ । ‘श्रीमती भट्टराईले हाम्रो यात्रालाई लामो समयदेखि नियालिरहनु भएको थियो । अहिले उहाँले सगुनमा ५ लाख डलर लगानी गरेर यो अभियानमा जोडिने निधो गर्नु भएको छ’, सगुनका संस्थापक गोविन्द गिरीले भने, ‘हामी हाम्रो अभियान र परियोजनामा जोडिने भट्टराईको निर्णयबाट निकै उत्साहित छौं । उहाँजस्ता प्रवासमा बस्ने धेरै नेपाली तथा दक्षिण एसियाली उद्यमीहरुले सगुनजस्ता स्टार्टअप कम्पनीहरुले प्रदान गर्ने अवसरबारे जानकारी राख्नु निकै उत्साहजनक कुरा हो ।’

सगुनका सहसंस्थापक कविन सिटौलाले पनि यमुनालाई सगुनमा स्वागत गर्दै लगानीका लागि धन्यवाद दिए । ‘एक सफल महिला व्यवसायी यमुना भट्टराईको कथा सांच्चिकै प्रेरणादायी छ । उहाँ एक मेहनती, सफलता पछ्याउने र महत्वाकांक्षी महिला व्यवसायी हुनुहुन्छ जसले सफल उद्यमी बन्न चाहने कुनै पनि महिला वा जो कोहीलाई उत्प्रेरित गर्न चाहनु हुन्छ’, उनले भने, ‘उहाँको लामो व्यावसायिक अनुभवले सगुनलाई अर्को चरणको वृद्धि तथा विस्तारमा सघाउ पुरयाउने हामीले विश्वास लिएका छौं । साथै उहाँले प्रविधिमा आधारित एउटा विश्वव्यापी कम्पनीको विकास यात्रामा सहभागी हुने विशेष अनुभव पनि प्राप्त गर्नु हुनेछ ।’

सन् २०१५ मा औपचारिक रुपमा शुरु गरिएको सगुनका अमेरिका, नेपाल र भारतमा कार्यालय छन् । सगुन एप गुगल प्लेस्टोर र एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिन्छ । सगुनको प्लेटफर्ममा प्रयोगकर्ताहरुले आफ्नो कथा, फोटो र भिडियो शेयर गर्छन्, आफ्ना साथीहरुसंग कुराकानी गर्छन् र उनीहरुले कमाएको ‘स्मार्ट कोइन’ हरु परिवार र साथीहरुलाई उपहार किन्न खर्च गर्न सक्छन् ।

प्रयोगकर्ताहरुले अहिले सम्म १ अर्ब ७० करोडभन्दा बढी ‘स्मार्ट क्वोइन’ आर्जन गरिसकेका छन् जसमध्ये ५३ करोड ३० लाख ‘स्मार्ट क्वोइन’ हरु परिवार तथा साथीहरुलाई उपहार दिन वा किनमेल गर्न खर्च गरिसकेका छन् ।

हालसम्म सगुनले सगुन स्टोरी, न्युज हेडलाइन्स, मुड टक, सोसियल स्मार्ट कार्ड बजारमा ल्याइसकेको छ । अब चाडै सपिङ तथा ‘भ्वाइस स्टोरी’ फिचरहरु पनि बजारमा आउंदै छन् ।

सफल व्यवसायी यमुनाको प्रेरणादायी कथा

अहिले अमेरिकामा सफल व्यवसायीका रुपमा स्थापित यमुनाको सफलताको कथा साँच्चीकै प्रेरणादायक छ । सन् १९९४ मा अध्ययनका लागि श्रीमान नन्दी भट्टराई अमेरिका आएको दुई वर्ष पछि उनी सन् १९९६ मा अमेरिका आएकी थिइन् ।

तर अमेरिका कल्पना गरेजस्तो सहज थिएन । नेपालमा नेपाल टेलिकमकी जागिरे यमुनालाई अमेरिकामा कामका धेरै विकल्पहरु मिलेनन् । पहिलो दिनमै भुईं पुछ्दै शुरु भएको थियो उनको संघर्ष । यो वा त्यो काम नभनी केहि वर्षसम्म उनले लगातार मेहनत र संघर्ष जारी राखिन् ।

साढे सात वर्ष सलेक्स सिटी यूटामा बसेपछि यमुना स–परिवार डालसमा बसाई सरिन् । सँधै अरूको काम गरेर हुँदैन, आफै केही गर्नुपर्छ भन्ने सल्लाह भयो । केही वर्षसम्म उचित व्यवसायको खोजी गर्दै जाँदा अन्ततः ग्याँस स्टेसनबाट व्यवसायमा प्रवेश गरिन् । ग्याँस स्टोरलाई बढाउँदै लिक्वइर (मादकपदार्थ) को स्टोरमा पनि हात बढाइन् । बिस्तारै उनले लिक्वइर स्टोरहरूको संख्या बढाउँदै लगिन् ।

पछि यमुनाले रियल स्टेटमा लगानी बढाउने सोच ल्याइन् । श्रीमानले पनि उनलाई सघाए । हाल आएर टेक्सासका हाईवे छेउका हजारौँ एकड जग्गामा उनको लगानी छ । विभिन्न ठाउँमा डिपार्टमेण्टल स्टोरहरू, हाउजिङ आदिमा लेण्डडिभेलप गराएर एक डिभेलेपरका रुपमा पनि उनी सक्रिय छन् । उनको व्यवसायमा अहिले सयौँले रोजगार पाएका छन् ।

आफ्नो सफलताको पछि सकारात्मक सोच नै कारक रहेको यमुनाको भनाइ छ । ‘चाहे छोरा हुन् या छोरी, घर चलाउन दुवैको उत्तिकै महत्व हुन्छ । उनीहरू दुवै सक्षम हुनु आवश्यक छ । उनीहरूलाई नयाँ नयाँ कामहरू गर्न प्रेरित गर्ने र सपना देख्न दिने गर्नुपर्छ’, उनी भन्छिन्, ‘सफलता प्राप्त गर्न नयाँ कामको थालनी पूर्व त्यसको अध्ययन गर्न जरूरी छ । रिसर्च राम्रो भएपछि जोखिम मोल्ने आँट गर्न पनि सक्नुपर्छ ।आफूले थालेको व्यवशायमा मेहनत र निरन्तरताले सफलतामा पुर्याउँछ । त्यसमा समय र भाग्यले पनि साथ दिनुपर्छ ।’

सगुनमा पाँच लाख डलरको लगानीबारे उनी भन्छिन्, ‘सगुनलाई पहिलै देखि नै नियालेर हेर्दै थिएँ । पटक पटक लगानीका प्रस्तावहरू पनि आएका थिए । अब यति धेरै प्रगति गरेको स्टार्टप कम्पनीमा लगानी गर्न सकिएन भने भोली पश्चाताप मात्र हुन्छ भन्ने लाग्यो । लगानी गर्ने भनेकै स्टार्टप कम्पनीमा हो भन्ने मेरो अनुभव छ । स्टार्टप कम्पनीमा मात्र अत्यधिक मुनाफा हुने सम्भावना हुन्छ । सगुन स्टार्टप कम्पनी हो र यसको भविष्य निकै उज्वल देखेकी छु ।’