१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसको क्रियाशील किचलोः पौडेल पक्ष सानेपामा जुट्दै

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७८, सोमबार ०६:१८

काठमाडौं । नेपाली कांग्रेसको पौडेल पक्ष आज छलफलमा जुट्ने भएका छन । डडेल्धुरामा भएको वडा अधिवेशनमा सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर मनलाग्दी गरेको भन्दै संस्थापनइतर समूह सानेपामा छलफलमा जुट्न लागेका हुन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु सानेपामा आज दिउँसो २ बजे छलफलमा जुट्न लागेका हुन्।

कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले जिल्लाको क्रियाशील सदस्यतामा केन्द्रले धाँधली गरेको आरोप लगाउँदै आएका छन्। प्रक्रियागत रुपमा सिफारिस भएका ४६० जना क्रियाशील सदस्यताको सूची केन्द्रले काटेको र जिल्लाले पठाउँदै नपठाएको ३१२ जनाको नाम केन्द्रले जबरजस्ती थपेर अधिवेशन गराएको मल्लले आरोप लगाएका छन्। क्रियाशील विवाद नटुंगिएको भन्दै मल्ल समूहले अधिवेशन बहिस्कार गरेको छ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि विवाद नटुंगाई डडेल्धुराको वडा अधिवेशन नगर्न देउवालाई पत्र लेखेका थिए। तर संस्थापनइतरको कसैको अनुरोधलाई स्वीकार नगरी डडेल्धुरामा गत शुक्रवार ५२ वटै वडामा अधिवेशन सम्पन्न भए । अधिवेशन शान्तिपूर्ण रुपमा भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जनाएका छन। देउवा पक्षका नेता भीमबहादुर साउदले भने पटकपटकको सहमतिको प्रयासलाई मल्ल समूहले अस्वीकार गरेपछि वडा अधिवेशन भएको दाबी गरेका छन्। यही विषयमा विवाद बढेपछि निर्वाचन समितिका केन्द्रीय संयोजक महादेव यादवले राजीनामा गरेका थिए। यद्यपि उनको राजीनामा देउवाले अस्वीकृत गरेका छन ।

त्यसैगरी संस्थापनइतरको बैठकमा प्रदेश नम्बर दुई लगायतका जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगो नलगाएको विषयमा पनि छलफल हुने भएको छ । सभापति देउवाले डडेलधुरामा गराएको अधिवेशनपछि संस्थापन इतर समुह निष्पक्ष महाधिवेशन हुनेमा सशंकित बनेको छ। देउवाले प्रदेश नम्बर दुईलगायत काठमाडौं, सिन्धुपाल्चोकलगायत आफू कमजोर भएका जिल्लामा क्रियाशील सदस्यतासमेत टुंगो लगाएका छैनन्। जसले गर्दा महाधिवेशन तोकिएको समयमा हुनेमा समेत कांग्रेसीहरु सशंकित बन्दै आएका छन्।