१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७८, सोमबार १५:४५

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ
टीयू, केयू, पीयू होइन डीयू (धामी युनिभर्सिटी) खोले हुन्छ
टिचिङ अस्पताल होइन, झारफुक अस्पताल खोले हुन्छ
स्वास्थ्य चौकी होइन, फुकफाक चौकी खोले हुन्छ ।

लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर ! एसो गरे कसो होला’ बाट साभार गरिएको हो । परिवर्तनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोक्सीप्रथामा केन्द्रित रहेर गरिएको अनुसन्धानात्मक पुस्तक ‘शल्यक्रिया’को विमोचन गरिएको हो ।

कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले अहिले पनि बोक्सीको आरोपमा कुटपिट गर्नु, दिसापिसाब खुवाउनु, गाली बेइज्जती गर्नु दुःखद् विषय रहेको बताउनुभयो । समाजमा अहिले भइरहेका विभिन्न किसिमका महिला हिंसाका घटना कम गर्न सामहिक आवाज बनाएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा सामाजिक अभियानकर्मी राधा पौडेलले सबै जाति, वर्ग, लिङ्ग र राजनीतिक दलसमेतको सामूहिक आवाज बनाउन सके हाल समाजमा घटिरहेका कुरीतिका घटना कम गर्न सकिनेमा जोड दिनुभयो । अधिवक्ता शशी बस्नेतले मानसिक परिवर्तन नआएसम्म यस्ता किसिमको घटना घटिरहने र हाम्रो समाजमा हजारौँ निर्मला पन्त बलात्कृत र मृत्यु भइरहने धारणा राख्नुभयो ।

बोक्सीको आरोप लगाएपछि पर्ने मानसिक असरले पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिकरूपमा पनि ठूलो समस्या आउने भन्दै त्यसबारे पनि अध्ययनको आवश्यकता रहेको चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले भनाइ राख्नुभयो ।

एक सय ६७ पाना रहेको उक्त पुस्तकमा नेपालमा बोक्सी प्रथा, विश्वमा बोक्सी हिंसाका घटना, मन्त्रशास्त्र, धर्मशास्त्र, धामी झाँक्रीको इतिहास, अन्धविश्वास र प्रथा साथै यस विषयमा गरिएको वैज्ञानिक विश्लेषण र बोक्सी आरोप, यातना कारण र असरका बारेमा उल्लेख गरिएको छ । लेखकद्वय खड्का र कुँवरले अझै पनि समाजमा पिछडिएका वर्ग नै हिंसामा पर्ने गरेको मुख्य विषयवस्तु आफ्नो पुस्तकको रहेको बताउनुभयो ।