१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१६ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७८, मंगलवार ०८:४५

मोरङको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीया किशोरी अध्यक्ष बनेकी छन्। ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने छिन् ।

गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो । बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितता तथा स्थानीय सरकारको कामकाजको बारेमा बालबालिकालाई सूचित गर्नको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाउने कार्यक्रम राखिएको हो ।

गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष समेत खडा गरिएको बुढीगंगा गाउँपालिकाले जनाएको छ ।