१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१,७६० सङ्क्रमित थपिए, १,२२० सङ्क्रमण मुक्त

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार १३:०३

विगत २४ घण्टामा देशभर एक हजार ७६० मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार १६ हजार ८४४ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी आज काठमाडौँ उपत्यकामा ४९५ जनामा सङ्क्रमण पुष्टि भएको छ । उहाँका अनुसार भक्तपुरमा ६३ जना, ललितपुरमा ७२ र काठमाडौँ ३६० सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक कूल परीक्षण गराएकामध्ये सङ्क्रमित हुने दरमा पनि कमी आएको पौडेलले बताउनुभयो । गत साउनमा परीक्षण गराएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण हुने गरेकामा हाल आएर त्यो घटेको पाइएको उहाँको भनाइ छ । कूल परीक्षण गरिएकामध्ये १०.६ प्रतिशतमा सङ्क्रमण देखिएको पौडेलले जानकारी दिनुभयो ।

यस्तै सक्रिय सङ्क्रमित २६ हजार ३०३ छन् । पाँच हजारभन्दा बढी सङ्क्रमित भएका जिल्ला ११ छन् । यस्तै उहाँका अनुसार एक हजार २२० सङ्क्रमण मुक्त भएका छन् । हालसम्म सात लाख ४३ हजार ५२६ सङ्क्रमण मुक्त भएका छन् । नेपालमा सङ्क्रमण मुक्त हुने दर ९५.२ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा सात जनाको ज्यान गएको छ । हालसम्म सङ्क्रमणबाट १० हजार ९९१ को मृत्यु भएको छ । नेपालमा प्रति लाखमा ३७० को सङ्क्रमणको कारणले मृत्यु हुने गरेको छ । यस्तै ४०७ सघन उपचार कक्ष (आइसियु), १२९ जना भेन्टिलेटर, २४ हजार ६८३ जना होम आइसोलेशन, एक हजार ६२४ जना संस्थागत आइसोलेशन र २१८ जना क्वारेन्टिनमा छन् ।

यसैगरी आज २९ लाख ९१ हजार १३१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ६० लाख चार हजार १९ ले पहिलो मात्रा र ५४ लाख १५ हजार ४२७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।