११ बैशाख २०८१, मंगलवार
Follow Us

देउवा सरकारकै कारण बजेटविहीनताको स्थिति आयो : डा. कँडेल

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७८, बुधबार १३:१४

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले वर्तमान सरकारकै कारण देश बजेटविहीनताको अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । प्रतिपक्षले सदन बन्द गराएकाले देश बजेटविहीनताको अवस्थामा पुगेको भनी प्रतिपक्षलाई आरोप थुपार्ने छुट सरकारलाई नरहेको उहाँले बताउनुभयो ।

बजेट अधिवेशन रातारात अन्त्य गरी अर्को दल फुटाउनका लागि अध्यादेश जारी गर्नुले सरकारको नियत प्रष्ट भएको उहाँको भनाछ छ । पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको टिप्पणी पनि गर्नुभयो । उहाँले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याइएको भन्ने नै स्पष्ट नभएको तर्क गर्नुभयो ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नगरेपछि देश आजदेखि बजेटविहीनताको अवस्थामा पुगेको छ । तर अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन बजेटको संकट परेपनि केही फरक नपर्ने बताउँदै आउनुभएको छ ।