७ बैशाख २०८१, शुक्रबार
Follow Us

लोसपाले ३ असोजलाई ‘कालो दिन’को रुपमा मनाउने

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७८, बिहीबार ०६:२५

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

संविधान जारी गर्दा तत्कालीन मधेशवादी दलहरू सहभागी भएनन् । उनीहरूको सहभागिता बिना नै संविधान अत्याधिक बहुमतले जारी गरिएको थियो । तर, यसलाई अस्वीकार गर्दै मधेशवादी दलहरूले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

यसवर्ष पनि जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस (३ असोज)लाई कालो दिनको रुपमा मनाउन पार्टी मातहतमा सर्कुलर जारी गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् ।

सर्कुलरअनुसार नै विरोध कार्यक्रम हुने लोसपाका कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लालले बताए । सरकारमा रहँदासमेत संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा नै मनाएको बताउँदै आफूहरूले संविधान संशोधनलगायका मुद्दाहरू सम्बोधन नभएसम्म कालो दिनको रुपमा नै मनाउने उनले बताए ।

‘संविधानलाई सर्वस्वीकार्य बनाउने दायित्व सरकारको हो । हामीहरूले उठाएको मांगलाई सम्बोधन गरेर संविधान दिवसको उत्सावमा हामीहरूलाई सहभागी हुने वातावरण अहिलेसम्म बनाइएको छैन । यसर्थ हामी कालो दिनको रुपमा मनाउन बाध्य छौँ,’ उनले भने ।

संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समाजवादी पार्टी नेपाल भने यसवर्ष अलमलमा देखिएको छ । प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेको जसपा संघीय सत्तारुढ गठबन्धनमा आवद्ध छ । संघीय सरकारमा सहभागिताको तयारीमा रहेको जसपा यसवर्ष अलमलमा परेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आफूहरूको संविधानप्रतिको असन्तुष्टि कायमै रहेको कारण संविधान संशोधनको लागि संर्घष जारी रहेको बताए । असन्तुष्टिकै कारणले आफूहरू संविधान जारी भएको दिनको उत्सावमा सहभागिता जनाउने नसक्ने उनको भनाइ छ । दुई तिहाइ बहुमतको अभावको कारण संविधान संशोधन हुन नसकेको मुख्यमन्त्री राउतले बताए ।

यसअघि पनि जसपाले विरोध कार्यक्रम गर्दा कुनैपनि मन्त्रीहरू सहभागि भएका थिएनन् । यसवर्ष पनि मौन बस्ने प्रदेशका कृषि तथा सहकारीमन्त्री विजय यादवले बताए । ‘विगतमा जसरी संविधान दिवसको दिन मौन बस्ने गरेका थियौँ, यसवर्ष पनि मौन नै बस्छौँ,’मन्त्री यादवले भने ।

तर, पार्टीको शीर्षनेताहरूबाट केही निर्णय भने भइसकेको छैन । लोसपाले सर्कुलर जारी गरेर कालो दिनको रुपमा मनाउन निर्देशन दिए पनि जसपा भने अलमलमा देखिन्छ । व्यक्तिगत रुपमा नेताहरू कालो दिवसको रुपमा मनाउने वा मौन बस्ने तयारीमा रहे पनि पार्टीगत रुपमा सजपाबाट कुनै निर्णय भएको छैन । ‘कार्यकर्ताहरूले संविधान दिवसको दिन के गर्छन्, त्यो आफूलाई थाहा छैन’, मन्त्री यादवले भने ।

यसअघि यादव समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष थिए । दुई वर्षअघि उपेन्द्र यादव संघीय सरकारमा मन्त्री हुँदा कालो दिनको रुपमा मनाउने विज्ञप्ति सार्वजनिक गरिएको थियो । गतवर्ष पनि जसपाले कालो दिनको रुपमा मनाएका थियो । तर, प्रदेश २ का मन्त्री विरोध कार्यक्रममा सहभागी भएनन् ।