६ बैशाख २०८१, बिहीबार
Follow Us

रद्द भयो कतार प्रहरीमा छनोट भएका २ सय जनाको माग

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७८, बिहीबार २१:५७

काठमाडौं । कतारस्थित नेपाली दुतावासले कतार प्रहरीका लागि पठाएको दुईसय जनाको माग रद्द गरेको छ । दूतावासले २९ अगस्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रालिका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्द गरेको हो ।

म्यानपावरले कामदार भर्ना प्रकृया जारी राखेकै बेलामा नेपाली दुतावासले कामदार पठाउने तयारी रद्द गर्न वैदेशिक रोजगार विभागलाई पत्र पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको माग श्रम संझौता अनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनमै सो म्यानपावरले ल्याएको मागमा कतारको आन्तरिक मन्त्रालयले अन्यत्रबाटै पदपूर्ति भएकोले रद्द गरेको जनाएको छ ।

कतार प्रहरीमा छनोट भएका युवासँग कुनै पनि शुल्क लिन नपाउने कतार सरकारको सर्तविपरीत सो म्यानपावरले कतार प्रहरीमा पठाउने नाममा चर्को सेवा शुल्क असुलिरहेको थियो । उसले प्रतिव्यक्ति कम्तीमा ८ देखि १२ लाख रुपैयाँसम्म उठाइरहेको थियो ।

कतार प्रहरीमा नेपाली युवालाई पठाउने विषयमा म्यानपावर कम्पनी या सरकारी संयन्त्रमार्फत भर्ना गर्ने भन्ने विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो । यस विषयमा गत मंसिरको पहिलो साता मागपत्र प्रमाणीकरण नभई केही म्यानपावर कम्पनीले अन्तर्वार्तासमेत लिएका थिए । विभागले मागपत्र प्रमाणीकरण नभइ अन्तर्वार्ता लिएको भन्दै म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो ।

पछिल्लो समय कतार प्रहरीमा नेपाली युवा म्यानपावरमार्फत नै पठाउने निर्णय भएसँगै अहिले आएको कतार प्रहरीको २ सय जनाको माग नेपाली युवाका निम्ति राम्रो अवसर थियो । तर, आर्थिक चलखेल र अन्यत्रबाट युवाहरुलाई भर्ना गरेपनि सो माग पनि गुम्न पुगेको छ ।