१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७८, बिहीबार २३:०५

काठमाडौँ । गैर आवासीय नेपाली संघले उत्पादन गर्न लागेको सांगीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ। दुबै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्नका लागि सम्झौता भएको छ।

कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने सम्झौतामा उल्लेख छ।

आयोजकका अनुसार यो प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौंमै हुनेछ र त्यसको प्रत्यक्ष प्रशारण पनि कान्तिपुर टेलिभिजनबाटै हुनेछ।

एनआरएनए आइसीसी अन्तर्गत संस्कृति तथा सम्पदा उप-समितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजहरुका स्वर प्रतिभाहरूको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो।

संस्कृति तथा सम्पदा उप-समितिका संयोजक गोविन्द प्रसाद गौतमले प्रि अडिसन तयारी लगभग सकिएको बताए। गत जुन २७ देखि ‘प्रि अडिसन’ खुला गरिएको थियो। कोरोना महामारीका कारण भर्चुअल अडिसन पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए।

दक्षिण एशियाबाहेक विश्वभर छरिएका रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन्।

‘खोजी : एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको ’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष एवं नियात्राकार जीवा लामिछाने रहेका छन्।