१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालले किनेका रेल एक बर्षसम्म पनि सञ्चालनमा आएनन

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७८, शनिबार ०५:२७

जनकपुर । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि भारतबाट जनकपुरमा दुईवटा रेल आएको एक वर्ष पूरा भएको छ । गतवर्ष असोज दुई गते जनकपुर आइपुगेको रेललाई ठूलो तामझामका साथ स्वागत गरिएको थियो । रेल आएको ठीक एक वर्ष पुग्दा पनि त्यो रेल चल्ने छाँटकाँट देखिएको छैन ।

इनरुवा स्टेसनमा दुईवटा रेल एक वर्षदेखि पार्किङ गरिराखिएको छ । सञ्चालनमा नआउँदै दुईवटै रेलको ‘वारेन्टी’ अवधिसमेत समाप्त भइसकेको छ । एक वर्षदेखि घाम पानी सहँदै आएको रेल जीर्ण बन्दै गएका छन् । प्राविधिक र कानुनी काम पूरा गर्न बाँकी रहेका कारण जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेका हुन । रेलसम्बन्धी कानुन संसद्बाट पारित हुन नसक्दा रेल सञ्चालनमा झन् ढिलाइ भएको हो ।

कुुर्थादेखि जयनगरसम्म भारतले तयार गरेको रेल–वे पूर्वाधार नेपाललाई अहिलेसम्म हस्तान्तरण हुन नसक्दा रेल सञ्चालनमा समस्या भएको छ । तर रेल्बे विभागले भने मङ्सिरको विवाह पञ्चमीबाट रेल सञ्चालनको तयारी भैरहेको जानकारी दिएको छ ।