४ बैशाख २०८१, मंगलवार
Follow Us

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०७८, आईतवार ०६:०१

लन्डन । क्रिष्टल प्यालेसलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई ३–० ले विजयी गराउन सादियो माने, मोहोमद सालाह र नाबी किएटाले एक एक गोल गरे ।

यो गोलसँगै मानेले लिभरपुलको लागि आफ्नो सय गोल पुरा गरेका छन् । जितसँगै लिभरपुल ५ खेलबाट १३ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा उक्लियो । समान खेलबाट १० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । गएरातीको खेलमा सिटीलाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोक्यो ।

प्रिमियर लिगका अन्य खेलहरुमा आर्सनलले बर्नलेलाई १–० ले हराउँदा एस्टन भिल्लाले एभर्टनमाथि ३–० को जित निकाल्यो । प्रिमियर लिगमा आज तिन खेल हुनेछन् । आज ब्राइटन र लेस्टर सिटी भिड्दा वेष्ट ह्याम युनाइटड र म्यान्चेस्टर युनाइटेड तथा टोटनह्याम हट्सपर र चेल्सी भिड्नेछन् ।