१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एभरेस्ट ल’ ले आयोजना ग-यो कार्यशाला गोष्ठी

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७८, मंगलवार १८:१०

लन्डन । ब्रिटेनस्थित एक प्रतिष्ठित ल फर्म, एभरेस्ट ल सोलिसिटर्स, ले नेपालस्थित अध्यागमन सम्बन्धी परामर्शदाता कम्पनीहरुका लागि एक कार्यशाला गोष्ठी आयोजना गरेको छ।

शनिबार आयोजित कार्यक्रममा अध्यागमन मामिला हेर्ने वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, एलिस विल्फोर्ड तथा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटेनको अध्यागमन सम्बन्धी कानून, अपिल प्रक्रिया एवं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई बेलायतमा स्थायी भिसा व्यवस्था बारे जानकारी दिएका थिए।

व्यारिस्टर रफायल जेसुरमले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा स्थायी बसोबासको अनुमति नदिइएकाले उनीहरुप्रति ऐतिहासिक अन्याय भएको कुरा ब्रिटिश अदालतले स्वीकार गरेको बताए। उनले गोर्खा परिवारमा पारिवारिक सम्बध मजबूत हुने हुनाले त्यो देखाउन सक्दा केस बलियो हुने सुझाव दिए। उनले नेपालमा तीन पुस्तासम्म एउटै घर, परिवारमा बस्ने प्रचलन रहेकाले त्यो कुरा न्यायाधीशहरुलाई राम्रोसंग बुझाउनु पर्ने बताए।

व्यारिस्टर एलिस विल्फोर्डले विदेशमा काम गर्न गएका भूतपूर्व गोर्खा सैनिक परिवारका सदस्यले विदेशबाट फर्के पछि आफ्नो परिवारसंग सम्पर्क कायमै रहेको देखाउनु पर्ने बताए।

त्यस्तै प्रिन्सिपल सोलिसिटर राजु थापाले गोर्खालीहरुको मुद्दा लडेर ५६ वर्ष उमेर पुगेका सन्तान र एउतै परिवार का ८ जनासम्म सन्तानलाई ब्रिटेन ल्याउन सफल भएको अनुभव सुनाउदै सबै कागजात जुटाएर मात्रै अपिल गर्न सुझाव दिए।

“यस अघि हामीले भूतपूर्व गोर्खा सैनिकहरु, गोर्खा विधवाहरु तथा बिएनओ राहदानीका बारेमा सार्वजनिक कार्यक्रमहरु संचालन गरेका थियौं र नेपाली समुदायले त्यसबाट लाभान्वित भएको हामीलाई बताउनु भएको छ,” उनले भने।

कार्यक्रममा सम्पूर्ण भिसा सलुशनका लीला मास्के तथा प्रभातमान मास्के, भिसा गाइड नेपालका दिनेश राम डंगोल तथा गोपाल डंगोल एवं श्रेष्ठ करियरका समी श्रेष्ठ, सूर्य नेम्वांग तथा लीना नेम्वांग सहभागी थिए।