११ बैशाख २०८१, मंगलवार
Follow Us

कुल आचार्यले एनआरएनए अध्यक्षमा दोस्रो पटक उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७८, आईतवार ११:३७

काठमाडौं । गैर-आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको प्रतिबद्धता जनाए ।

विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए ।

विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए ।

कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

संघको ९ औं महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तसंग पराजित आचार्यले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षको लागि वर्तमान उपाध्यक्ष रविना थापा र बरिष्ठउपाध्यक्ष डा. बद्री केसीले समेत उम्मेदवारी दिने तयारी गरेका छन् ।