१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एनआरएन अरनिको’ अन्तर्राष्ट्रिय पुरस्कार अधिकारीलाई

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७८, आईतवार ११:४२

काठमाडौँ — गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले यस वर्षको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार लेखक तथा साहित्यकार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई दिने निर्णय गरेको छ ।

समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशी र सम्मानपत्र सहितको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दैआएको छ ।

पहिलोपटक २०७७ सालभरमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायी बसोवास गर्ने अधिकारीद्वारा लिखित कृतिलाई प्रदान गर्ने घोषणा गरेको हो । निबन्ध, संस्मरण र व्यक्तिचित्र मार्फत् समकालीन प्रवासी र नेपाली समाज, राजनीति, साहित्य लगायत समाजका विविध पात्रहरूबारे निजात्मक शैली, सुन्तुलित भाषा, सरल शिल्पविधान र निर्भिक प्रस्तुतिसहित गहन वैचारिक विमर्शको आग्रह राखिएकोले हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई पुरस्कारका निम्ति चयन गरिएको पुरस्कार निर्णायक समितिले बताएको छ ।

वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा हरिराज भट्टराई, डा ज्ञानु पाण्डे र नयनराज पाण्डे सम्मिलित निर्णायक समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्का’ का लागि यस कृतिको चयन गरेको हो । पुरस्कृत कृतिका लेखक अधिकारीलाई गैरआवासीय नेपाली संघको यही अक्टोबरमा काठमाडौँमा सम्पन्न हुने दसौँ महाधिवेशनका अवसरमा पुरस्कार हस्तान्तरण गरिनेछ ।