७ बैशाख २०८१, शुक्रबार
Follow Us

मध्यपूर्व एनआरएनए अभियानको मुटु हो : उपाध्यक्ष डा केसी

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७८, शनिबार ०५:३८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले मध्यपूर्व एनआरएनए अभियानको मुटु भएको बताएका छन् ।

एनआरएनए कतार रुसपछिकै दोस्रो रहेको र मध्यपूर्व तथा मलेसियाका एनआरएनएकर्मीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका रहेको डा।केसीले बताए । ‘कोरोना महामारीमा गाँस काटेर देशलाई अक्सिजन दिने मुटु हो एनआरएनए मध्यपूर्व,’ एनआरएनए मध्यपूर्वका प्रतिनिधिहरुलाई भर्चुअल रुपमा सम्बोधन गर्दै डा. केसीले भने, ‘त्यसकारण देशभित्रकाले मात्र होइन, संसारकै नेपालीले उनीहरुलाई बिर्सन हुँदैन ।’
मध्यपूर्वका श्रमिकलाई आफु कार्यरत देशमा मात्र नभइ एनआरएनएमा पनि हेलाको दृष्टिले हेरिने गरेको बताउंदै डा केसीले त्यसमा परिवर्तन ल्याउनका लागि आफूले अध्यक्षमा उमेद्वारी घोषणा गरेको बताए । वैदेशिक रोजगारीले नेपालको जीडीपीमा २५ प्रतिशत योगदान पु-याएको र त्यसमध्ये ठूलो हिस्सा मध्यपूर्वका श्रमिकले धानिरहेको डा केसीले बताए । ‘मध्यपूर्वका देशमा खटिएका नेपाली श्रमिकहरु नेपालका आर्थिक सिपाही हुन्,’ उनले भने ।

मध्यपूर्वमा पुग्ने सबैजसो नेपाली रहरले नभइ कहरले पुगेका भन्दै उनले देशमा रोजगारीको अवसर सिर्जना गर्न सके तातो बालुवामा पसिना चुहाउनु नपर्ने बताए । ‘हामी जन्मेको देशभित्रै रोजागरी र अवसरको व्यवस्था भए ४० डिग्री माथिको तापक्रममा कोही घोटिनुपर्ने थिएन,’ उनले भने, ‘त्यसका लागि हामी अब जागरुक हुनैपर्छ ।’
मध्यपूर्वका बालुवाका थुप्रालाई हराभरा बनाउन ती देशमा पुगेका श्रमिकको दैनिकी निकै कठोरपूर्ण र कष्ठकर भएको जनाउंदै डा. केसीले दैनिक रोजगारीका लािग मध्यपूर्व तथा मलेसिया पुगेका नेपालीको दैनिक ३ देखि ४ वटा लास देश भित्र्ने अवस्था निकै दयनीय भएको बताए ।

अधिकांश नेपाली श्रमिकहरुले कमाएको पैसा घर खर्च र अनुत्पादक क्षेत्रमा लगानी गर्ने भएकाले बुढेसकालमा आर्थिक समस्या झेलिरहेकाले आफू पेन्सन फन्डको व्यवस्था गर्न लागिपरेको डा. केसीले बताए ।
१८ वर्षदेखि निरन्तर एनआरएनएमा आवद्ध डा केसी हालका उपाध्यक्ष हुन् । उनी यसअघि एनआरएनएको महासचिव र कोषाध्यक्षका रुपमा सफल कार्यकाल निर्वाह गरिसकेका छन् । हाल उनले रुस र युक्रेनमा उत्पादन तथा आयात–निर्यातसम्बन्धी व्यवसाय गर्दै अँएका छन् । त्यसका साथै केसीले नेपाली चियालाई रुसलगायत देशमा लगेर ब्रान्डिङ गर्दै आएका छन् ।
अध्ययनका लागि सन् १९९० मा रुस पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजी विषयमा स्नातकोत्तर उत्तीर्ण केसीले २००१ मा सोही विषयमा बिद्याबारिधी गरेका छन् ।