७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अध्यक्षमा डा.केसीको उमेद्वारी घोषणा (प्रतिबद्धता सहित)

नेपालब्रिटेन डट कम्
१९ आश्विन २०७८, मंगलवार ११:०१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले विभिन्न आठ शीर्षकमा आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका हुन । एनआरएनएको १० औं विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुँदैछ ।
कार्यक्रममा बोल्दै केसीले एनआरएनएलाई समग्र प्रवासी नेपालीहरुको भावनाअनुसार अघि बढाउन सहकार्य गर्न इच्छुक अन्य पदका प्रत्यासीहरुलाई पनि आफूले समेटेको बताए । ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित सशक्त टिम बनाएका केसीले उपाध्यक्षमा डा. हेम राज शर्मा (युके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यसमिन बेगम सैयद (साउदी अबर) लाई अघि सारेका छन् ।

त्यस्तै महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिमखडा (युके), ओम गुरूगं (जापान), चिरन्जीबी घिमिरे (क्यानाडा) हुनुहुन्छ । कोषाध्यक्षमा लोक प्रसाद दाहाल (बेल्जियम), र महिला सहकोषाध्यक्ष यमुना भट्टराई (अमेरिका) लाई समेटेका छन् । त्यस्तै, महिला संयोजकमा संगिता मरहट्टा (युके) र युवा संयोजकमा मिलन छन्त्याल (आयरल्याण्ड) केसीको टिमबाट प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन् ।

एनआरएनएलाई प्रवासी नेपालीहरुको साझा संस्थाका रुपमा विकसित गर्न तथा पछिल्लो समय देखिएको चरम राजनीतिकरण अन्त्य गर्दै संघलाई थप मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको केसीले जनाए । आफ्नो टिममा आवद्ध अन्य प्रत्यासीहरुकै आधारमा आफू साझा एनआरएनएको पक्षमा रहेको प्रमाणित भएको उनले बताए । एनआरएनएमा पछिल्लो समय देखिएको राजनीतिकरण रोक्ने सबै पंजिकृत सदस्यहरुले नेतृत्व छनोटका लागि मतदान गर्न पाउने व्यवस्था गरिनुपर्ने केसीको भनाइ छ ।

‘स्थापना कालदेखि नै संघका विभिन्न जिम्मेबारीमा रहेर कार्य गरेको अनुभव र आफ्ना अग्रज तथा शुभेच्छुकहरुको चाहनालाई सम्मान गर्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुरेका हुँ,’ डा. केसीले भने, ‘संसारभरका प्रवासी नेपालीहरुले मलाई निर्वाचित गराउनेमा म ढुक्क छु ।’

प्रतिवद्धता पत्रमार्फत् केसीले रोजगारी, वैदेशिक लगानी, संस्थागत पुर्नसंरचना, गैरआवासीय नेपालीका हकअधिकार, सीप र प्रविधिसहितको एनआरएनए, नेपालमा पर्यटन प्रवद्र्धन, युवा र महिलाका मुद्दा र अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य आफ्ना प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।

केसीले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने, श्रमिकहरुको योगदानमा आधारित सुरक्षा कोष र पेन्सन फण्ड स्थापना गर्ने, विदेशमा सीप र दक्षता सिकेर नेपाल फर्केकाहरुलाई सरकारसँगको समन्वयमा रोजगारीको अवसर दिलाउने, कामका लागि मध्यपूर्व तथा मलेसियामा पुगेका महिलाहरुको सुरक्षाका लागि कुटनीतिक पहल गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै, श्रम स्वीकृति, बीमा नविकरणलगायतका कार्य विदेशस्थित नेपाली नियोगबाटै गर्ने व्यवस्था मिलाउन र आकर्षक नयाँ श्रम गन्तव्यको पहिचान गरी श्रम सम्झौताका गर्न नेपाल सरकारसँग सहकार्य गर्ने केसीले जनाएका छन् ।

केसीले नेपालमा लगानी भित्र्याउने, नेपालमा लगानीका क्षेत्र पहिचान गरी तिनै तहका सरकारसँग समन्वय तथा सहकार्य गर्ने, विप्रेशणलाई उत्पादनमूलक क्षेत्रमा लागनीको वातावरण बनाउने र विदेशी लगानी भित्र्याउन दोहोरो करको व्यवस्था हटाउन पहल गर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
अघिल्लो महाधिवेशनमा आफूहरुले गरेको प्रविद्धताअनुसार संघको पुर्नसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतको जग हालिसकेको जनाउँदै केसीले उक्त कार्यलाई पूर्णता दिन पनि आफू कम्तीमा एक कार्यकाल अध्यक्ष बन्न चाहेको बताए ।

को हुन् केसी?
एनआरएनएमा स्थानपना कालदेखि नै आवद्ध डा. बद्री केसी हालका उपाध्यक्ष हुन् । उनी सन् २००७ मा एनआरएन रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका थिए । सन् २००९ र २०११ मा दुई कार्यकाल केन्द्रिय सदस्य भएपछि केसीले सन् २०१३ मा कोषाध्यक्षको जिम्मेबारी पाए ।
कोषाध्यक्षको कार्यकालमा डा. केसीले सन् २०१४ मा जापानको टोकियो सम्मलेनमा एनआरएनको आर्थिक व्यवस्थापनका लागि दशवर्षे कार्ययोजना ल्याएका हुन् । उक्त कार्ययोजनामा केसीले अघि सारेको अवधारणाका आधारमा एनआरएनए आर्थिक रुपमा सबल र समृद्ध संस्थाका रुपमा विकास भएको हो ।

त्यस्तै, सन् २०१५ मा महासचिव बनेका डा. केसीले आफ्नो सक्रियतामा कम्तीमा ३० देशमा एनआरएनएको संगठन बिस्तार गरेका थिए । सन् २०१९ सम्म दुई कार्यकाल महासचिव बनेपछि केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष बनेका हुन् । पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोभिड–ा१९ को महामारीविरुद्ध लड्न राहत सामाग्री नेपाल पठाउने तथा वितरण गर्ने कार्यका लागि केसीले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । त्यसका साथै, एनआरएनएका राष्ट्रिय र अन्तराष्ट्रिय समन्वय परिषद्बीच सम्बन्ध सुदृढ पार्न पनि केसीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

वैदेशीक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएका अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता छ । केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन् । लामो समयसम्म एनआरएनका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण केसी अध्यक्ष पदका लागि केसीको उमेद्वारी निकै सशक्त देखिएको छ ।