October 28, 2021
2:38 PM | 7:23 PM
डायस्पोरा

नेपाल बेलायतको रातो सूचीबाट हट्यो

  07/10/2021 मा प्रकाशित

लण्डन । बेलायतले यात्राको रातो सूचीबाट नेपाललाई हटाएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

बेलायत सरकारको सो निर्णय सोमबार अक्टोवर ११ बिहानदेखि लागू हुनेछ । अब बेलायतको रातो सूचीमा पेरु, इक्वेडोर, कोलम्बिया, पनामा, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।

बेलायतले रातो सूचीमा राखेका मुलुकहरुबाट सबैलाई बेलायतमा यात्रा गर्न दिइएको छैन । बेलायती नागरिक वा बेलायतमा बसोबासको अधिकार पाएकाहरुलाई मात्र बेलायतमा आउन दिइएको छ । यसरी आउँदा पनि १० दिन सरकारले तोकिदिएको होटलमा क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । जसको मूल्य प्रतिव्यक्ति २ हजार २८५ पाउण्ड छ ।

नेपाललाई रातो सूचीमा राख्नपर्ने कुनै कारण नरहेको भन्दै सो सूचीबाट हटाउन बेलायतमा रहेका नेपाली समुदायलगायतले बेलायत सरकारलाई दबाब दिएको थियो ।

दशैँको मुखमा बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकाले बेलायतबासी नेपालीहरुले आफन्त भेटघाटमा राहतको अनुभव गरेका छन् ।

प्रतिक्रिया