१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डेढ महिनाभित्र निर्वाचन हुन्छ : एनआरएनए अध्यक्ष कुमार पन्त

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७८, मंगलवार ११:१४

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी डेढ महिनाभित्र हुने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको आयोजनमा मंगलवार भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालयसंग छलफल गरेर डेढ महिनाभित्र निर्वाचन गर्ने तयारी गरिएको बताए । उनले मन्त्रालयले आफ्नो कार्यक्षेत्र नाघेर पत्राचार गरेको बताए ।

उनले भने ‘एनआरएनएभित्रका समस्याको समाधान गर्न हामीनै सक्षम छौं हामीले समाधान निकाल्छौं, म प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत भेटेर यही कुरा भन्छु ।’ पन्तले मन्त्रालयले आफुसंग एकप्रकारको छलफल गर्ने तर पत्र लेख्ने बेलामा अर्कै प्रकारको पठाउने गरेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका उपाध्यक्ष डा. बद्री केसीले नेतृत्व कस्ले लिने भन्ने विषय गौढ भएको बताउदै निर्वाचनको वातावरण बनाउन आफु लचिलो हुन तयार रहेको बताए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै गैरआवासीय नेपाली संघका संरक्षक रामप्रताप थापाले संघ अत्यन्त कठिन मोडमा उभिएको बताए । उनले निर्वाचन समितिले संघको पदाधिकारीको निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्षहरु रविना थापा, मन केसी, महासचिव डा. हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री, सचिव आरके शर्मा, लगायत राष्ट्रिय समितिका अध्यक्षहरु, आइसीसी सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरु, केन्द्रीय पार्षद लगायतले सम्बोधन गरेका थिए ।

यसअघि कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको थियो ।

महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन् ।