७ बैशाख २०८१, शुक्रबार
Follow Us

अल्डरसटमा एचके नाइट २०२१ को तयारी

नेपालब्रिटेन डट कम्
२८ आश्विन २०७८, बिहीबार ०३:१५

लन्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आगामी महिनादेखि सुचारु हुने भएको छ ।

नेपालका चर्चित गायकहरुको प्रस्तुतिमा नोभेम्बर १२ तारिख शुक्रबारका साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ ।

एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रियक गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहनेछ । त्यस अवसरमा बेलायतस्थित दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् । एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउनेछन् ।

कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरुले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहनेछन् ।

कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङका अनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी बिहान तीन बजे सकिनेछ ।

कार्यक्रम हेर्न अग्रीम टिकट लिंदा २५ र कार्यक्रमकै दिन गेटमा लिंदा ३० पाउण्ड लिइनेछ ।

कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ । त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन् ।

कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।

कार्यक्रमको टिकट लिनका लागि आयोजक समूहलाई सम्पर्क गर्ने नम्बरहरु तलको पोस्टरमा उल्लेख छन् ।