१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचन रोक्ने मधेशी मोर्चा को हो ? : झलनाथ खनाल

नेपालब्रिटेन डट कम्
११ माघ २०७३, मंगलवार ०९:५८

झलनाथ खनाल, नेता नेकपा एमाले
वर्तमान सरकार मधेश केन्द्रित दलहरुसँग डराएकाले निर्वाचन घोषणा गर्न नसकेको आरोप नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले लगाएका छन् । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकाले सरकारले अविलम्ब निर्वाचनको माहोल बनाउनुपर्ने खनालको भनाइ छ । निर्वाचन घोषणा भएपछि राजनीतिक दल निर्वाचनमा होमिने उनले बताए । यदि कसैलाई निर्वाचन जाने इच्छा छैन भने उनीहरुलाई जबर्जस्ती गरिराख्नु आवश्यक नभएको खनालको तर्क छ । वर्तमान समसामयिक विषयमा नेता खनालसँग गरिएको कुराकानी–

० देश चुनाव महोलमा अघि बढेको हो ?
– देशलाई धेरै अघि चुनावमा लैजानुपर्ने आवश्यकता थियो । संविधान घोषणा भएपछि कार्यान्वयन मुख्य कुरा हो । त्यो कार्यान्वयन हुन ढिलो भइरहेको छ, यो सरकारले ढिलो गरिरहेको छ । तर तुरुन्तै निर्वाचनको घोषणा गर्न जरुरी छ । पछिल्लो समयमा आएर केही सकरात्मक कुरा सरकारले गरेको छ । सरकारको खुट्टा अहिले पनि जगमा र ठीक ठाउँमा उभिएका छैनन् । यसले के गर्छ मान्छेहरु आशंकामा छन् । तर पनि मुलुकसामु निर्वाचनको विकल्प छैन ।

० माघ १५ गतेभित्र चुनावको मिति घोषणा सम्भव छ ?
– सरकारले आँट ग¥यो भने विल्कुल सम्भव छ, योभन्दा अगाडि नै निर्वाचनको घोषणा गर्न सम्भव थियो, अहिले पनि सम्भव छ । आज भोलि सम्भव छ, सम्भव नहुने कुरै छैन । निर्वाचन ऐन तुरुन्तै बनाउनुपर्छ, निर्वाचन आयोगलाई ती कुरा दिएपछि योजना बनाउँछ । यो आँट, भिजन, संकल्प र प्रतिबद्धताको कुरा हो ।

० संसदमा दर्ता भएको विधेयकप्रति सत्तारुढ दल नै त्रसित छ नि किन होला ?
– उहाँहरु राष्ट्रिय भिजनका साथ अघि बढिरहनु भएको छैन । दक्षिणतिरकाले के भन्छन् भनेर मात्र उहाँहरु अघि बढिरहनुभएको छ । त्यसकारण उहाँहरु मधेशीमोर्चासँग डरले थुरथुर हुनुहुन्छ । राष्ट्रप्रतिको प्रतिबद्धताबाट उहाँहरु पन्छिन खोज्दै हुनुहुन्छ । संविधान घोषणापछि मुख्य काम भनेकै निर्वाचन हो, यसलाई कार्यान्वयन गर्ने कुरा हो । त्यसकारण अविलम्ब यो घोषणा गर्नुपर्छ । सबैलाई समेटेर अगाडि बढ्नका लागि तत्पर हुनुपर्छ ।

० संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचन हुन दिन्न भनेका छन् नि मधेशी केन्द्रित दलहरुले ?
– मधेशी मोर्चाले नेपालमा चुनाव हुन दिने वा नदिने प्रश्नै होइन । उहाँहरु को हो ? दिने र नदिने ? उहाँहरु सहभागी हुने कि नहुने प्रश्न होला । उहाँहरु इच्छा भए सहभागी हुनुहुन्छ, इच्छा नभए सहभागी हुनुहुन्न । पार्टीको स्वइच्छाको कुरा हो । मधेशी मोर्चालाई आत्मनिर्णय गर्ने अधिकार दिए हुन्छ । त्यसका लागि कोही डराउनुपर्ने, थर्किनुपर्ने वा आतंकित हुनुपर्ने कुनै कारण छैन । चुनाव थपक्क घोषणा गर्नुपर्छ, यसमा सहभागी हौ भनेर सबै दलहरुलाई आह्वान गर्नुपर्छ । कुनै दल सहभागी हुँदैनन भने के गर्ने ?

० निर्वाचनका लागि समय छोटो छ, सम्भव होला ?
– निर्वाचन गराउने कुरामा सहमति हुनुपर्छ, शीर्ष दलहरुबीच कुराकानी भएको छ, सहमति भइसकेको छैन । जतिसक्दो छिटो निर्वाचन गराउ भनेर हामीले सरकारलाई भनिरहेका छौं । निर्वाचन घोषणा गर्ने हो भने हाम्रो पार्टी दृढतापूर्वक समर्थन गर्छ । हामीलाई निर्वाचन आवश्यक छ । आम जनता र देशलाई निर्वाचन आवश्यक छ । निर्वाचन आयोगलाई चाहिने ३–४ वटा ऐन छ, यो संसदले पास गर्नुपर्छ, ताकि आयोगले आफ्नो योजना बनाउन सकोस् । यति भयो भने निर्वाचन बैशाख अन्तिम वा जेठको सुरुमा मज्जाले गर्न सकिन्छ ।

० थ्रेसहोड कति राख्नेबारे सहमति भयो ?
– यस विषयमा त्यत्ति धेरै छलफल चलेको छैन । पहिलो कुरा हामीले स्थानीय तहको निर्वाचन गर्नुपर्छ । यस सिलसिलामा सहमति भए हुन्छ, नभए हामी अगाडि बढ्न सक्छौं । यो कुराले अहिले चुनाव रोक्दैन ।

० चुनाव चिन्हका बारेमा नि ?
– हामीले त्यस विषयमा अहिले छलफल गरेका छैनौं । यदि समस्या छ भने निर्वाचन आयोगले हामीलाई बोलाओस् । निष्कर्ष निकाल्न हामी तत्पर छौं । एमालेको चुनाव चिन्हमा तलमाथि होला भन्न मलाई लाग्दैन ।

० एमालेले तराईमा गर्ने भनेको शक्ति प्रदर्शन के हो ?
– नेकपा एमालेले मेचीदेखि महाकालीसम्म जनपरिचालन गरिरहेको छ । त्यो जनपरिचालनलाई झापादेखि कन्चनपुरलाई बनाइएको छ । फागुन २१ गतेका दिन हामी मेचीबाट सुरु गर्छौ, त्यो अभियान चल्दै हरेक जिल्ला, सहर बजार हुँदै त्यो अगाडि बढ्छ । र, महाकालीमा गएर त्यो टुंगिन्छ । हामी निक्कै त्यो अभियान लामो समयसम्म चलाउँछौं र, सिंगो तराईलाई हामी जागरुक बनाउँछौं ।

० निर्वाचनको पूर्वसन्ध्यामा एमालेले गरेको प्रदर्शन हो ?
– यसलाई जसले जसरी बुझ्छन, त्यो हाम्रो आपत्तिको विषय होइन । तर देशको जनतमलाई ठीक ढंगले अगाडि बढाउनका लागि एमालेले जनपरिचालन गरेको हो । अहिले तराईमा व्यापक भ्रमको खेती गरिएको छ । मधेशी मोर्चाले खेती गरेको छ, भारतका कतिपय नेताहरुले खेती गरेका छन् । त्यसपछि सत्तारुढ दुईवटा दलहरुले खेती गरेका छन् । त्यो खेतीलाई हामी जलाइ दिन्छौं । उनीहरुले गरेको भ्रमको पर्दा हामी च्यात्चुत पारिदिन्छौं । वास्तवमा आफ्नो देश के हो, कस्तो बाटोबाट अघि बढ्नुपर्छ भन्ने बारेमा तराईका जनतालाई हामी ठीक ढंगले कुरा बुझाउँछौं ।

० तराईमा छरेको भ्रम भनेको के हो ?
– उनीहरुले यत्रो प्रचार गर्दा पनि तपाईंहरुले थाहा पाउनुभएन ? उनीहरुले संविधान संशोधनको कुरा ल्याइरहेका छन् । संशोधन पनि केमा भन्दा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउनुपर्ने, अंगिकृतलाई सरकार प्रमुख बनाउनुपर्ने, राष्ट्रपति, उपराष्ट्र र कमाण्डर इनचिफ बनाउनुपर्ने कुरा ल्याइरहेका छन् । त्यसैगरी पहाड र मधेश छुटाउनुपर्छ भनेर ल्याइरहेका छन् । यिनै हुन् भ्रमका खेतीहरु । मधेशका मान्छेलाई अधिकार दिएन, एकदम धेरै विभेद ग¥यो, उनीहरुलाई हेप्यो, दमन ग¥यो भन्ने खालको कुरा ल्याएका छन् । यो सबै गलत हो । संविधानले सिंगो पहाडलाई, हिमाल र तराईलाई एकताबद्ध बनाएको छ, उनीहरुलाई हक अधिकारले सुसज्जित गरेको छ । यि कुरा बुझाउनका निम्ति अहिले हामी जागरुण अभियान चलाउँदैछौं ।

० अहिले संवादको माध्यमबाट समाधान खोज्नुपर्ने बेला होइन ?
– हामीले प्रदर्शन गरिरहेका छैनौं, अभियान चलाइरहेका छौं । जागरुण अभियान भनेको प्रदर्शन मात्र हुँदैन, जागरण अभियानको गतिविधिलाई अरुले प्रदर्शन ठान्छन् भने हाम्रो आपत्तिको कुरो रहेन । काम गरेपछि बाहिर देखिन्छ, दर्शनमा आउँछ । दर्शनमा आउने भएको हुनाले प्रदर्शन भनिन्छ, त्यो बेग्लै कुरा हो । तर हामी जागरुण अभियानमा छौं ।

० निर्वाचनका लागि एमालेको भूमिका कस्तो रहन्छ ?
– चाडोभन्दा चाँडो निर्वाचनको घोषणा गरे भनेर हामीले सरकारलाई भनिरहेका छौं । नेकपा एमाले त्यसलाई समर्थन गर्छ । निर्वाचनसम्बन्धी ऐन बनाउने कुरामा एमालेले साथ दिन्छ । निर्वाचन आयोगलाई आफ्नो कार्यक्रम बनाउन हरेक प्रकारले सहयोग गर्छ । र, निर्वाचन सम्पन्न गराउन पनि एमालेले भरपूर सहयोग गर्छ ।

० सत्तारुढ दलले संविधान संशोधन प्रस्ताव पारित गराउँछु भनिरहेका छन् नि ?
– यी दुवै पार्टीको नाम ‘झुट’ राखिदिए हुन्छ । यी दुई दलका नेताहरु पूर्व, पश्चिम, उत्तर र दक्षिण गएर त्यही कुरा भन्छन् । यो झुट हो, कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पास हुँदैन । १, २ र ३ संविधान संशोधन प्रस्ताव पास हुँदैन ।