११ बैशाख २०८१, मंगलवार
Follow Us

पद्यश्री साधना सम्मान र साहित्य पुरस्कार प्रदान

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७८, बुधबार १२:५०

काठमाडौँ — पद्यश्री साधना सम्मान र पद्यश्री साहित्य पुरस्कार क्रमशः भजनशिरोमणि भक्तराज आचार्य र मोक्षभूमि उपन्यासका लेखक केशव दाहाललाई प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले २०६२ मा स्थापित यस पुरस्कार यात्राले १६ वर्ष पार गरेको सुनाउँदै शक्ति र सत्ता क्षणिक हुने र साहित्य कालजयी हुने बताए ।

उनले गायक संगीतकार तथा गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई साधना सम्मान र सिंजा खस साम्राज्यमा भएको दासप्रथाबारे लेखिएको उपन्यास मोक्षभूमिलाई पद्यश्री साहित्य सम्मान अर्पण गर्न पाउँदा आफूहरू हर्षित भएको बताए ।

ठूलो धनराशिका पुरस्कार छनोटको निर्णायक समितिमा को–को हुन्छन् र त्यसको मापदण्ड के हो भन्ने विषयमा प्रश्न उठ्दै आएको पृष्ठभूमिमा अध्यक्ष लामिछानेले आगामी वर्षका लागि पद्यश्री साहित्य पुरस्कार छनोट गर्ने निर्णयक समितिको नाम सार्वजनिक गरे । उनका अनुसार साहित्यकार कुमारी लामा, नयनराज पाण्डे र समालोचक राम लोहनी समितिमा रहनेछन् ।

अध्यक्ष लामिछानेले आगामी वर्षदेखि संस्थाले समाजसेवामा विशिष्ट योगदान पुर्‍याएका एक व्यक्तिलाई पद्यश्री सेवा सम्मान प्रदान गरिने पनि घोषणा गरे ।

कार्यक्रममा सम्मानित भक्तराज आचार्यको मन्तव्य उनका छोरा तथा गायक सत्यराज आचार्यले पढेर सुनाएका थिए । आचार्यले ठूलो धनराशीको पुरस्कार पाउँदा बाबु निकै हर्षित भएको बताए । सम्मानित साहित्यकार केशव दाहालले थाहै नपाई आफू लेखक भएको बताउँदै भने, ‘सायद पहाडी जिल्लामा हुर्किएको, बिहान मकालु हिमाल देखेको, प्रकृतिलाई नियालेको देखेर म हिमाल, पहाड र नदीका कविता लेख्ने भए हुँला ।’

उनले राजनीतिक अभियन्ताको रुपमा आफू चिनाए पनि पुरस्कारले आफूलाई लेखनको बाटोमा हिँडाइराख्ने बताए । उनले भने, ‘पुरस्कारले दिएको गरिमालाई सधैं कायम राख्नेछु ।’