१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विमलले मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७८, शनिबार १६:४२

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य विमल घर्तीमगरले आगामी शहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबबाट खेल्ने भएका छन् । युवा स्ट्राइकर विमल र साविक विजेता मछिन्द्र यस सिजन सँगै रहने निर्णय गरेका हुन् । गत सिजनसमेत मछिन्द्रबाट लिग खेलेका विमलले यस सिजनमा पनि खेल्ने निर्णय लिएका हुन् ।

क्लब स्रोतले न्युज कारखानालाई पुष्टि गर्दै युवा खेलाडी विमल यस सिजन क्लबसँग रहने बताएको हो । ‘यस सिजनसमेत विमल क्लबमै रहनेछन् । विमल र क्लब सम्झौता नवीकरण गर्न तयार भएका छौं,’ क्लब स्रोतले न्युज कारखानालाई बतायो । क्लबले भोलि (आइतबार) दिउँसो २ बजे पत्रकार सम्मलेन गरेर विमललाई क्लबमा अनुबन्धन गर्दैछ ।

गत सिजनमा विमलले मछिन्द्रबाट अन्तिम खेलमात्रै खेलेका थिए । भुटानमा कुवेतसँगको खेलअघि ‘डिस्को काण्ड’ मा मुछिएका विमललाई एन्फाले कारबाही गर्दा अन्तिम खेलमा मात्रै विमलले खेल्न पाएका थिए । यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलले घुँडाको एसियल गुमाएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावपछि कतार एफएले विमलको शल्यक्रिया कतार अस्पेटार अस्पतालमा गरेको थियो । त्यसयता, नेपाल फर्किएका विमल रिकभरीको हुने तयारीमा छन् ।

गत सिजन अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र पहिलो पटक लिगको उपाधि हात पार्न सफल भएको थियो । अन्तिम खेलमा आर्मीलाई बराबर काफी थियो भने मछिन्द्रलाई जितको विकल्प थिएन । यसपटक क्लबले कप्तान विराज महर्जनलाई विदाई गर्दै सुजल श्रेष्ठ, विशाल राई, रन्जित धिमाल, देभेन्द्र तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, मनिष डांगी, गोलरक्षक विशाल श्रेष्ठसँग सम्झौता गरिसकेको छ ।

मछिन्द्रले यसपटक प्रशिक्षकमासमेत ए लाइसेन्स प्राप्त प्रवेश कटुवालसँग सम्झौता नवीकरण गरिसकेको छ । यसअघि मछिन्द्रले एएफसी लाइसेन्स प्रक्रियामा जान पिस पोइन्ट बोर्डिङ स्कुलसँग सम्झौता गरेको थियो ।