१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूके निवर्तमान अध्यक्ष गुरुङलाई बेलायतको कम्युनिटी अवार्ड

नेपालब्रिटेन डट कम्
९ कार्तिक २०७८, मंगलवार १४:२९

लन्डन । एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले बेलायतको बेजिङस्टोक क्षेत्रमा प्रदान गरिने एक कम्युनिटी अवार्ड प्राप्त गरेकी छन् ।

स्थानीय समुदाय र परोपकारी क्षेत्रमा गुरुङले पुर्‍याएको योगदानको कदर गर्दै उनलाई ‘कम्युनिटी अचिभर अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको छ ।

बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बिएसीसीए) को आव्हानमा हरेक वर्ष मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ का अवसरमा यो अवार्ड दिइने गरेको छ । यस वर्ष गुरुङसहित अन्य समुदायका समेत जम्मा १० कम्युनिटी लिडरलाई अवार्डका लागि छनोट गरिएको छ ।

गुरुङलाई अवार्डको लागि छनोट गरिएको घोषणा गर्दै उक्त संस्थाले उनको अगुवाइमा भएका परोपकारी कामहरुको कदर गरिएको जनाएको छ ।

क्यान्सरपीडीतहरुको सहयोगार्थ च्यारिटी दौड, नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादिक्षा, कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट डेढ सय अक्सिजन सहयोग लगायतका कार्यमा गुरुङले गरेको सफल नेतृत्वको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ ।

एनआरएनएनए यूके इतिहासकै पहिलो महिला अध्यक्ष गुरुङ बेलायतको नेपाली समुदायकी एक अग्रणी अभियन्ता हुन् । कोभिड महामारीका बेला उनको नेतृत्वमा सहयोग तथा राहतको प्रभावकारी अभियान सञ्चालन गरिएको थियो ।

बेलायतस्थित अन्य नेपाली संघसंस्थामा समेत आबद्ध रहेर गुरुङले सामाजिक क्षेत्रमा योगदान गर्दै आएकी छन् ।

तमुधिं यूके र क्वोने घोण्डे घोताने समाजमा आमा समूहकी संस्थापक अध्यक्ष उनी तमुधिं यूके, बेजिङस्टोक नेपाली समाजसहित विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् । नेप्लिज वुमन एशोसिएसनमा समेत उनी उपाध्यक्ष छन् ।