१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा एकै दिन २६३ कोरोना संक्रमितको मृत्यु

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७८, बुधबार ०२:५२

लन्डन । बेलायतमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा २६३ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यो सङ्ख्या झन्डै ८ महिनायताकै सबैभन्दा बढी हो । अघिल्लो साताको तुलनामा मृतक सङ्ख्या झन्डै ८ प्रतिशतले बढेको हो ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४० हजार नजिक पुगेको छ । मंगलबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा हालसम्म एक लाख ३९ हजार ८३४ जना सङ्क्रमितको ज्यान गइसकेको छ । यसै गरी बितेको २४ घण्टामा थप ४० हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बेलायतमा कुल सङ्क्रमित हुनेको सङ्ख्या ८८ लाख ५३ हजार नाघेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजारमाथि रहँदै आएको छ भने गत २१ अक्टोबरमा एकै दिन ५२ हजार भन्दा बढी सङ्क्रमित भएका थिए । गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या १६ प्रतिशतले बढेको छ ।

पछिल्लो २४ घण्टामा ९१६ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ८ हजार ६९३ पुगेको छ । यस्तै ९१३ जना सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ । बेलायतमा हालसम्म ९ करोड ५३ लाख ३५ हजार भन्दा बढी डोज कोरोनाविरुद्धको खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९७ लाख ५३ हजार ३७ जना अर्थात् ८६।२ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५५ लाख ८२ हजार ८९१ जना अर्थात् ७९ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी बेलायतमा कोरोनाविरुद्धको तेस्रो अर्थात् बुष्टर डोज लगाउनेको सङ्ख्या पनि ६० लाख नाघेको छ । जाडो याममा सङ्क्रमण दर तीव्र हुने भएकाले आफ्नो पालो आउने बित्तिकै खोप लगाउन सरकारले अनुरोध गरेको छ । हाल ५० वर्षमाथिका, फ्रन्टलाइन वर्कर्स तथा स्वास्थ्य अवस्था कमजोर भएकालाई बुष्टर डोज वितरण भइरहेको छ ।