६ बैशाख २०८१, बिहीबार
Follow Us

देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच बेलायतमा वार्ता हुने

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७८, बुधबार ०५:३८

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बेलायतमा भेटवार्ता हुने भएको छ ।   ग्लास्गो शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका देउवा र मोदीबीच दुईपक्षीय वार्ताको तयारी गरिएको हो ।

नेपाली दुतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीहरुसंग उच्चस्तरीय भेटघाट गर्ने भएका छन्।

देउवा यही अक्टोवर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन्। देउवाले अक्टोवर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसंग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती लण्डनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतवार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो शहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ। प्रधानमन्त्री देउवा, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव सहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ।

देउवाले वल्र्ड लिडर समिटमा विश्वमा तीब्र गतिमा हुदैं गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन्। प्रधानमन्त्रीको टोली ३ नोभेम्वरका दिन ग्लास्गो शहरबाट नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ।