१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती प्रधानमन्त्री जोन्सन र देउवाबीच भेटवार्ता हुने

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७८, बिहीबार ०४:३६

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गर्ने भएका छन्। उनी मोदी र जोन्सनसँग २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) का क्रममा हुने ‘साइडलाइन’ वार्तामा देउवा र मोदीबीच भेट हुन लागेको हो ।

साइडलाइन वार्ताका लागि नेपालले गरेको आग्रह भारतले बुधबार स्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । कोप–२६ यही कात्तिक १२–२६ मा हुँदै छ । प्रधानमन्त्री देउवा भने १३ गते गएर १७ गते फर्कने छन् ।

चौथो पटक प्रधानमन्त्री भएपछि देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा भएको मोदीसँगको भेट नै पछिल्लो हो । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई एक महिनापछि गत साउन ३ मा संसद्बाट विश्वासको मत लिएपछि मात्र मोदीले फोन गरेर बधाई दिएका थिए

कूटनीतिज्ञ एवं देउवा चौथो पटक प्रधानमन्त्री हुँदाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले दुईपक्षीय भेट महत्त्वपूर्ण हुने र यसले सहकार्य गर्न सघाउने बताए । नेपालका प्रायः प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमण भारतको गर्दै आएका छन् ।

देउवा पाँचौंपल्ट प्रधानमन्त्री भएपछिको पहिलो विदेश भ्रमण स्कटल्यान्डको हुन लागेको हो । पुष्पकमल दाहालले १३ वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनको गरेका थिए ।