६ बैशाख २०८१, बिहीबार
Follow Us

भारतको सहज जीत, सेमिफाइनलको सम्भावना कायमै

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७८, शनिबार ०२:३७

जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्डलाई आठ विकेटले पराजित गर्दै भारतले आफ्नो सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती टस हारेर पहिलो ब्याटिङ थालेको स्कटल्याण्ड १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा समेटिएको थियो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाएका थिए । भारतका लागि स्पीनर बलर रविन्द्र जडेजाले १५ रन खर्चिएर तीन विकेट र तीव्रगतिका बलर महम्मद सामीले तीन विकेट लिंदै स्कटल्याण्डलाई सस्तैमा समेटेका थिए ।

जीतका लागि ८६ रनको सामान्य लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको भारतले ६ दशमलव ३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै स्कटल्याण्डमाथि सानदार जीत निकालेको हो । भारतका लागि ओपनर लोकेस राहुलले १८ बलमै ५० रनको अर्धशतकीय पारी खेलेका थिए । यो जीतसँगै भारत तस्रो स्थानमा उक्लिएको छ । भारतले अब आफ्नो अन्तिम खेल नामिबियासँग खेल्नेछ ।

गएराती सम्पन्न अर्को खेलमा भने न्युजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गर्दै समूह दूईको दोस्रो स्थानमा उक्लिएको हो । आजको खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजसँग दिउँसो ३.४५ बजे खेल्दैछ भने इङ्ल्याण्डले साउथ अफ्रिकासँग साँझ ७.४५ बजे प्रतिस्पर्धा गर्दैछ ।