१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकारलाई दिईएको धम्की र उजुरीप्रति घोर आपत्ति र भत्सर्ना

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७८, मंगलवार ००:१८

निर्वाध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संयुक्त राष्ट्र संघको बडापत्र, विश्वव्यापी रूपमा आधारभूत मानव अधिकार र विभिन्न देशका संविधान र कानूनले ग्यारेन्टी गरेको कुरा हुन् । त्यही स्वतन्त्रता र ग्यारेन्टीको आधारमा एनआरएनए युकेसंग सम्बन्धित विभिन्न सामाजिक संजाल र ग्रुपमा सार्वजनिक भइसकेको आम चासो र सरोकारको समाचारलाई युरोपनेपाली खबर डटकममा सप्रमाण प्रकाशित भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष तथा युरोपनेपाली खबर डटकमका प्रधान सम्पादक राजकुमार थापालाई नेपालको सुनसरी जिल्ला प्रशासन कार्यालयमा गरिएको भनिएको सिकायतको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त प्रकाशित समाचारलाई लिएर गरिएको धम्की र उजुरीको नेपाल पत्रकार महासंघ युरोप शाखा घोर भत्सर्ना गर्दै आपत्ति प्रकट गर्दछ । कुनै समाचार उपर चित्त नबुझे सम्बन्धित संचार माध्यममा खण्डन गर्ने, गराउने वा संचार माध्यम नियमन गर्ने निकायमा सिकायत गर्ने स्वतन्त्रता रहँदा रहदै समाचारलाई लिएर राज्यको चौथो अंग संचारजगत र संचारकर्मीमाथि दिइएको उजुरी र धम्की नाजायज छ, जो कोहीबाट संचारकर्मीमाथि हुने यस्ता उजुरी र धम्कीको महासंघले डटेर सामना गर्ने जानकारी गराउन चाहन्छौं ।

संचारकर्मीमाथि यस्तो क्रियाकलाप नदोहोर्याउन सचेत गराउँदै कुनै समस्या आइपरे सम्वादका माध्यमबाट समाधान र निकास निकाल्न सम्बन्धित सबैमा हार्दिक आग्रह पनि गर्दछौं । फेरिपनि कसैले पत्रकारमाथि यस्तो व्यवहार गरिरहे पत्रकार महासंघ युरोप कानूनी कारवाहीको बाटोमा जान बाध्य हुने जानकारी गराउँदछौं ।

प्रेम परियार
अध्यक्ष

द्रोण रिजाल
महासचिव

नेपाल पत्रकार महासंघ युरोप, शाखा ।

मिति : १५ नोभेम्बर २०२१