८ बैशाख २०८१, शनिबार
Follow Us

विदेशी सडकमा नेपाली भोकै सुत्ने दिन आउँदैन : डा. बद्री केसी, एनआरएनए उपाध्यक्ष

नेपालब्रिटेन डट कम्
५ मंसिर २०७८, आईतवार ०४:००

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले विदेशमा रहेका नेपालीलाई भोकै सडकमा बस्ने वातावरणको अन्त्य गर्ने अभियानको सुरुवात भइसकेको बताएका छन्।

हाल संघको उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभाग संयोजक रहेका केसीले ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार’ विषयक एक वहस कार्यक्रममा अब विदेशमा कुनै पनि नेपालीले भोकै सडकमा भौतारिने दिन समाप्त हुने ठोकुवा गरे।

शुक्रबार आयोजित कार्यक्रममा उनले कोभिड महामारीका कारण विदेशमा धेरै नेपाली समस्यामा परेको स्मरण गरे। र, उनले यसबाट पाढ सिक्दै आफूहरूले आगामी दिन कुनै पनि नेपालीले भोकै विदेशी सडकमा भौतारिने दिनको अन्त्य गर्ने वाचा गरे। उनले महामारीमा हजारौं पीडितलाई संघले राहत तथा उद्धार गरेको स्मरण गराए।

‘कोभिड महामारीमा विदेशमा लाखौं नेपाली समस्यामा परेको म सम्झन्छु। उहाँहरूलाई संघले मात्र उद्दार गर्न सम्भव नभएपछि हामीले अन्तर्राष्ट्रिय दातृ निकाय आइएलओ र आइएमओ जस्ता संघ–संस्थासँग समन्वय गरेर राहत तथा उद्धारको कार्यक्रम चलाएका थियौं,’ उनले भने, ‘यो निकै प्रभावकारी भएको सबैलाई विदितै छ।’

कोभिड–१९ को संक्रमणपछि विशेषगरी मध्यपूर्व र मलेसियामा रोजगार गुमाएर अलपत्र परेकालाई उद्वार गर्न संघ सफल भएको थियो। यस अवधिमा नेपालीहरूलाई घर फर्काउने तथा जेलमा परेका नेपालीलाई छुटाएर ल्याएको थुप्रै उदाहरणको फेहरिस्त उनले सुनाए।

‘विदेशमा कोही नेपाली खाना र बस्नै नपाएर सडकमा सुत्नु परेको छैन। समस्या परेकालाई हामीले सेल्टर नै बनाएर सहयोग गरिरहेका छौँ,’ उनले भने। उनले कोही समस्या परे संघको सम्पर्कमा आउन सबैसँग आग्रह पनि गरेका थिए। ‘समस्या परे हामिलाई सम्झिनुहोस्। हाम्रा स्वयम्सेवक साथीहरूलै तुरुन्तै सहयोग गर्नुहुनेछ,’ उनले भने।

कोभिड–१९ को संक्रमणबाट विदेशमा रहेका नेपालीलाई जोगाउन सक्रिय रहेका एनआरएनएका केही स्वंयसेवकले ज्यान गुमाएको प्रसंग उप्काउँदै उनी भावुक बनेका थिए।