१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन रोकिन्न् : अध्यक्ष पन्त

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७८, सोमबार १३:५४

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रियामाथि परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गरेको विषयमा अदालत जाने अध्यक्ष कुमार पन्तले बताएका छन् ।

परराष्ट्र मन्त्रालयसँग समन्वय गरी निर्वाचन तालिका सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले पुनः हस्तक्षेप गर्दै नेतृत्व छनोट थप अनिश्चित बनाइदिएको छ । एनआएनएले आगामी मंसिर २९ (डिसेम्बर १५) निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

गत शुक्रबार उक्त समयतालिका सार्वजनिक भएपछि परराष्ट्रले अर्को पत्राचार गर्दै अर्को निर्देशन जारी गरी पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषदको वैद्यता समेत नभएको जनाएको छ ।

‘हामी निर्वाचनको कार्यक्रमहरु रोक्दैनौं । परराष्ट्रको निर्देशनले हामी अन्यायमा परेका छौं । न्यायका लागि अदालत जान्छौं,’ उनले भने, ‘त्यसका लागि कानुन व्यवसायीहरुसँग परामर्श थालिसकेका छौं ।’

परराष्ट्रको नयाँ निर्देशन अनुसार अब निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषद्लाई तोकिदिएको छ । जसको नेतृत्व एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले गरिरहेका छन् ।

‘एनआरएनएको इतिहासमा सरकारबाट पहिलोपटक निरन्तर हस्तक्षेप खेपिरहनु परेको छ,’ पन्तले भने, ‘परराष्ट्रको यो नांगो हस्तक्षेप हो । संस्था नियन्त्रणमा लिएर आफूले चाहेको व्यक्तिलाई जिताउने खेलमा परराष्ट्र मन्त्रालय लागिपरेको छ ।’

एनआरएनएको निर्वाचन समय तालिका परराष्ट्रले दोस्रोपटक स्थगित गरिदिएको हो । सुरुमा एनआएनएको निर्वाचन समय तालिका कात्तिक ३ गतेका लागि तोकिएको थियो ।

महाधिवेशन प्रतिनिधीहरुको विवाद रहेको भन्दै परराष्ट्रले उक्त निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।