६ बैशाख २०८१, बिहीबार
Follow Us

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

नेपालब्रिटेन संवाददाता
९ मंसिर २०७८, बिहीबार ०३:३८

स्टार खेलाडीले भरिएको पेरिस सेण्ट जर्मेनलाई पराजित गर्दै म्यानचेष्टर सिटी यूईएफए च्याम्पियन्स लिगको समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ । बुधबार राति सिटीले घरेलु मैदान एतिहादमा पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

भ्रमणकारी टोली पिएसजीका केलियन एमबाप्पेले खेलको ५०औँ मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६ मिनेटमा २–१ को अग्रता बनाए ।

स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् ।

यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो ।

समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५–० ले पराजित गर्‍याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्‍याे । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।

रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा
स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३-० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १/१ गोल गरे ।

समूह ‘डी’ कै अर्काे खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेकाे छ । इन्टरको जितमा दुबै गोल इडेन जेकोले गरेका थिए । जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुनेछ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।