८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्र मन्त्रालय निर्देशन एनआरएनए संरक्षक परिषदद्धारा अस्वीकार

नेपालब्रिटेन डट कम्
१० मंसिर २०७८, शुक्रबार १९:५०

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउन परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई दिएको निर्देशनलाई अस्वीकार गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघको संरक्षक परिषदको बहुमत सदस्यहरुले मन्त्रालयले दिएको निर्वाचन गराउने जिम्मेवारी लिन अस्विकार गरे हो ।

संघका पूर्वअध्यक्ष शेष घलेको पहलमा बसेको बैठकमा सहभागी बहुमत संरक्षकहरुले मन्त्रालयको पत्र प्रचलित कानून र विधान विपरित भएको भन्दै निर्वाचनको जिम्मेवारी लिन अस्वीकार गरेको एनआरएनए उच्चस्रोतले जनाएको छ ।

प्रमुख संरक्षक शेष घलेले परराष्ट्र मन्त्रालयले संरक्षक समितिलाई जिम्मेवारी तोकेपछि बैठक राखेका थिए ।

बैठकमा बोल्दै संरक्षक जीवा लामिछानेले मन्त्रालयको पत्रले वर्तमान कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाए पछि सोही समितिद्धारा गठित संरक्षक परिषद वैधानिक हुन नसक्ने भन्दै संघको निर्वाचनको सम्पूर्ण काम संघको विधान अनुरुप हुनु पर्ने तर्क राखेका थिए ।

बैठकको संयोजन गरेका पूर्वअध्यक्ष घलेले लामिछानेको तर्क सुने पछि कानूनविदसंग छलफल गर्ने बताएका थिए ।

संरक्षक परिषदमा भएका संस्थापक रामप्रताप थापा, भवन भट्ट र जीवा लामिछाने स्पष्ट रुपमा मन्त्रालयको पत्र अवैधानिक भएको भन्दै कार्यसमितिलेनै निर्वाचन गराउन पर्ने पक्षमा छन् भने देवमान हिराचन र शेष घले अर्को कित्तामा उभिएका छन् । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो समेत संरक्षक परिषदका बहुमत सदस्यहरूको पक्षमा रहेको बताएको छ ।

घलेले मन्त्रालयको पत्रलाई आधार बनाएर वर्तमान कार्यसमितिको सम्पूर्णअधिकार आफ्नो हातमा लिन कम्मर कसेका छन् ।

संरक्षक समितिका बाँकि चार सदस्यले भने शेष घलेको प्रस्तावमा असहमति जनाएका छन् ।

शेष घलेले एनआरएनएका अध्यक्ष कुमार पन्तलाई पत्राचार गरी निर्वाचन गराउनकालागि केन्द्रिय सचिवालय, काठमाडौंका कर्मचारीहरु आफ्नो चुनावी अभियानकालागि परिचालित गराइदिनुपर्ने, सचिवालयमा भएका तथ्यांक र सूचनाहरु उपलब्ध गराइदिनुपर्ने र निर्वाचन आयोगलाई चुनाव नगराउन निर्देशन दिन माग गरेका थिए ।

तर शेष घलेको उक्त प्रस्तावलाई अध्यक्ष पन्तले ठाडै अस्विकार गरिदिएका छन् । संघस्रोतका अनुसार घलेले सबै पक्षलाई समेटेर निर्वाचन गराउनुको सट्टा पंचायतीशैलीमा अर्को पक्षलाई पेलेर निर्वाचन गराउने रणनितीमा लागेका छन् । यसैबीच गैरआवासीय नेपाली संघले शनिवार दिउसो एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन सम्बन्धी जानकारी दिने तयारी गरेको छ ।