१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेमा को को बन्दैछन् पदाधिकारी ?

नेपालब्रिटेन डट कम्
१२ मंसिर २०७८, आईतवार ०९:१७

सौराहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सौराहामा जारी बन्द सत्र रोकेर अबको केही घण्टापछि सहमतिका आधारमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गर्ने तयारी अगाडि बढाएका छन् । यसक्रममा ओलीले पूर्वमाओवादी र १० बुँदे पक्षधर नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् ।
सहमतिका आधारमा नेतृत्व चयन गर्ने गृहकार्यका क्रममा १९ सदस्यीय पदाधिकारीको टिम बनाउने ओलीलाई सकस परिरहेको छ । आकांक्षीहरु धेरै रहेका तर पदहरू सीमित रहेकाले सबैलाई कसरी चित्त बुझाउने भन्नेमा ओलीले ‘होमवर्क’ गरिरहेको नेताहरूले बताएका छन् ।

पार्टीको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल दुईजनाले दाबी गरेका छन् । तेस्रोपटक अध्यक्षमा लड्न ओलीले विधानसमेत सच्याइसकेका छन् । तर, रावलले जति भोट आए पनि अध्यक्षमा चुनाव लडेरै छाड्ने अडान लिएका कारण अध्यक्ष पदमा सर्वसम्मत हुने स्थिति अहिलेसम्म बनिसकेको छैन ।

अध्यक्षपछिको वरिष्ठ उपाध्यक्ष पदमा भने ईश्वर पोखरेलबाहेक अरूको दाबी परेको छैन । पोखरेलकै लागि विधानमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको एमाले नेताहरू बताउँछन् । अहिलेसम्मको स्थिति हेर्दा वरिष्ठ उपाध्यक्षमा पोखरेल सर्वसम्मत हुने सम्भावना बढेको नेताहरू बताउँछन् ।

एमालेमा ६ जना उपाध्यक्षको सीट छ । विधान महाधिवेशनले ५ जना उपाध्यक्ष तय गरेकोमा नेताहरूको व्यवस्थापनका लागि ६ जना उपाध्यक्ष बनाउने गरी विधान संशोधन गरिएको छ ।

अहिलेसम्म खुलेर आएका उपाध्यक्षका दाबेदारहरू ५ जना छन् । तर, महासचिवका दाबेदारहरूलाई व्यवस्थापन गर्दा अन्यलाई पनि उपाध्यक्ष बनाउनुपर्ने भएकाले ६ जना उपाध्यक्ष छान्न सजिलो छैन ।

अहिलेसम्म अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा ९बादल०, घनश्याम भुसाल र देवराज घिमिरेले उपाध्यक्षमा दाबी गरेका छन् । यीमध्ये वर्तमान उपाध्यक्ष युवराज ज्ञवालीलाई अनुशासन आयोगको प्रमुख बनाउने ओलीको प्रस्ताव प्रस्ताव छ ।

झापाली नेता देवराजलाई ‘ब्याक’ हुन लगाउने र महासचिव दाबी गरिरहेका केही नेतालाई उपाध्यक्षमा तान्ने ओलीको प्रस्ताव छ । उनले भीम रावललाई पनि उपाध्यक्षमै अटाउन चाहेका छन् ।

यसो गर्दा उपाध्यक्ष बनाउनुपर्ने नेताहरूको सङ्ख्या बढ्न गई ८ पुग्छ । किनभने, भीम रावल, अष्टलक्ष्मी शाक्य, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, घनश्याम भुसाल, विष्णु पौडेल, रामबहादुर थापा बादल र सुरेन्द्र पाण्डेलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता ओलीसामु छ ।

अध्यक्ष ओलीले सुरेन्द्र पाण्डेलाई उपमहासचिव प्रस्ताव गरेका छन्, तर उनले पहिल्यै महासचिवमा ६ भोटले हारेको हुनाले त्यो भन्दा तल नजाने भन्दै महासचिव नपाए उपाध्यक्ष पाउनुपर्ने अडान राखेका छन् ।

त्यस्तै, महासचिव मागेका विष्णु पौडेललाई पनि उपाध्यक्षमा व्यवस्थापन गर्नुपर्ने चुनौती ओलीसामु छ । त्यसैले ६ वटा उपाध्यक्षको सीटमा ८ नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ओलीलाई परेको देखिन्छ ।

सौराहामा रहेका एमाले नेताहरूको भनाइ अनुसार पदाधिकारीमध्ये सबैभन्दा ‘टफ’ प्रतिस्पर्धा महासचिव पदमा देखा परेको छ । एउटा सिट रहेको महासचिवका दाबेदार नेताहरूमा पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ छन् ।

यीमध्येबाट ओलीले शंकर पोखरेललाई महासचिव बनाउन चाहेको नेताहरू बताउँछन् । तर, यसो गर्दा गुरुङ, पौडेल र नेम्वाङलाई उपाध्यक्ष बनाउनुपर्ने बाध्यता छ । प्रदीप ज्ञवाली र ज्ञवाली र पाण्डेलाई भने उपमहासचिव बनाउने ओलीको प्रस्ताव छ । तर, यो प्रस्ताव ज्ञवालीले माने पनि पाण्डेले उपाध्यक्ष दाबी गर्ने स्रोत बताउँछ ।

एमालेमा उपमहासचिव तीनजना बन्न पाउँछन् । अहिलेसम्म गोकर्ण विष्ट, भीम आचार्य, विन्दा पाण्डे लगायतले उपमहासचिवमा दाबी गरेका छन् । निवर्तमान सचिव योगेश भट्टराईले सचिवमै चित्त बुझाउने बताइसकेका छन् भने प्रदीप ज्ञवालीले महासचिव दाबी गरेका छन् । तर, ओलीले ज्ञवालीलाई उपमहासचिवमै सहमत गराउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

सचिवका दाबेदारहरू अधिक रहेको र उपाध्यक्ष एवं महासचिवका दाबेदारहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने अवस्थामा निवर्तमान सचिवहरूमध्येबाटै तीनजना उपमहासचिव बनाउने बाध्यता एकातिर छ भने अर्कोतर्फ महिला, दलित र मधेसी क्लस्टरलाई पनि नेतृत्वमा ल्याएको सन्देश दिनुपर्ने भएकाले नयाँले समेत उपमहासचिवमा चान्स पाउने सम्भावना रहेको स्रोतले बतायो । तथापि, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र सुरेन्द्र पाण्डेलाई उपमहासचिव बनाउने ओलीको चाहना रहेको एमाले नेताहरू बताउँछन् ।

एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा। शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् । त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, शेरबहादुर तामाङ, विशाल भट्टराई, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ राजेन्द्र गौतम, रघुवीर महासेठ, ठाकुर गैरे, अरुण नेपाल, महेश बस्नेत, गुरु बराल, शेरधन राई, कर्ण थापा र हिक्मत कार्कीसमेतले सचिवमा दाबी गरेका छन् । यीमध्येबाट ओलीले ७ जना सचिव छान्नुपर्ने छ ।

ओलीले पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एकजनालाई सचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ । योगेश भट्टराई पुरानै भइहाले । आफू निकटका विष्णु रिमाल पनि ओलीको प्राथमिकतामा छन् । त्यस्तै, महिलाबाट शिवमाया र पदमा अर्यालमध्ये एकले चान्स पाउने बताइएको छ । विन्दा पाण्डेले उपमहासचिव नपाएमा उनी सचिव बन्ने सम्भावना छ ।