१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनले ५ हजार डलरमै नेपालमा मुद्दती खाता खोल्न पाउने

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७८, मंगलवार ०८:१५

लन्डन । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ । एनआरएनले अब नेपालका बैंकमा न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवर्त्य मुद्रामा मुद्दती खाता खोल्न पाउने भएका छन् । यसअघि न्यूनतम १० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा मुद्दती खाता खोल्न पाउने व्यवस्था भएकोमा अब आधामा झारिएको हो ।

त्यस्तै मुद्दती निक्षेप खाताको न्यूनतम अवधि पनि घटाइएको छ । ‘यसअघिसम्म मुद्दती खाता कम्तीमा २ वर्षको हुनुपर्ने व्यवस्था गरिएको थियो, अब यसलाई १ वर्षमा झारिएको छ’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने । एनआरएनले बचत खाता पनि खोल्न पाउने छन् । अमेरिकी डलर, यूरो, पाउण्डस्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मुद्दती खाता खोल्न सक्ने छन् । मुद्दती खातामा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमअनुसार प्रदान हुनेछ ।

ब्याजदर निर्धारणका लागि बैंकहरु नै स्वतन्त्र छन् । विद्युतीय माध्यमबाटै एनआरएनको खाता खोल्न सकिने व्यवस्था गरिएको छ । एनआरएनले व्यक्तिगत मात्रै नभई उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको पनि खाता खोल्न सक्नेछन् । मुद्दती खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्नेगरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ । नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

एनआरएनको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जार भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी लिनुपर्नेछ । उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्वन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी समेत लिनुपर्नेछ ।