१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचनः अदालतको अन्तरिम आदेश रोक्न घले दम्पतीको चलखेल

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७८, मंगलवार ०८:५०

लण्डन । उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सो आदेश रोक्न गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घले दम्पती काठमाण्डौंमा सक्दो चलखेल गरेका थिए ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार घले दम्पतीले संघको मुद्धामा अदालतमा बहस हुनु भन्दा एक दिन अघि प्रधानमन्त्री शेर वहादुर देउवा पत्ती आरजु देउवासंग भेट गर्दै अदालतलाई प्रभाव पार्ने प्रयास गरेका थिए ।

सरकारी दवावकाबीच मुख्य न्यायधीश नृपध्वज निरौलाको गत आइतबार बसेको एकल इजलासले मंसिर १९ गते परराष्ट्र र गैर आवासीय नेपाली संघ (एनआरएनए) दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो ।

परराष्ट्रले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएको थियो । ती सबै निर्देशनलाई आगामी १९ गतेसम्म कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको हो ।

परराष्ट्रले संघलाई गरेको पत्राचारअनुसार अब निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषद्लाई तोकिएको थियो । जसको नेतृत्व एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले गरिरहेका छन ।

घलेले सोही पत्रलाई आधार बनाएर कार्यसमितिको सम्पूर्ण अधिकार खोसेर संघमा सर्वशक्तिमान बन्न खोजेका थिए । अदालतको आदेशले घलेको योजनामा ठेस लागे पछि उनी फेरी अदालतलाई आफ्नो प्रभावमा पार्न सकृय रहेको स्रोतको दावी छ ।

घलेले अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षधर वकिल सुनील कुमार पोखेरललाई आफ्नो प्रतिनिधिको रुपमा पाटन उच्च अदालतमा पठाएका थिए । अदालतको नियमावली विपरित पोखेरलले बहस गरेका थिए तर उनका तर्कहरुलाई अदालतले ठाडै अस्वीकार गरेको थियो ।