१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अध्यक्ष पदको लागि उम्मेदवारी शुल्क १० लाख !

नेपालब्रिटेन डट कम्
१४ मंसिर २०७८, मंगलवार १५:२१

लण्डन । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको लागि १० लाख उम्मेदवारी शुल्क तोकिएको छ ।
संघको निर्वाचन समितिले मंगलवार एक सूचना नारी गर्दै उम्मेदवारहरुको शुल्क निर्धारण गरेको हो ।

निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख, सहकोषाध्यक्षका लागि ४ लाख ५० हजार, महिला, युवा तथा क्षेत्रीय संयोजकहरुका लागि ३ लाख ५० हजार, क्षेत्रीय, महिला तथा युवा उपसंयोजकका लागि २ लाख ५० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।

संघको केन्द्रीय पदाधिकारीको लागि ५० भन्दा बढी पदमा निर्वाचन हुने बताएको छ । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता लीलामणि पौडेलको हस्ताक्षर रहेको सो निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन डिसेम्बर ६ तारिखमा , मतदाता नामावलीमाथि दाबीविरोध डिसेम्बर ७ तारिखमा, दाबी विरोधमाथि छानविन डिसेम्बर ९ तारिखमा गरी डिसेम्बर १० मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

यसैगरी, डिसेम्बर ११ र १२ मा उम्मेदवारको मनोनयन दाखिला गर्ने, डिसेम्बर १२ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने, डिसेम्बर १३ मा उम्मेदवारीमाथि दाबी विरोध, डिसेम्बर १४ मा मनोनयन पत्र जाँच र दाबीविरोध माथि छानविन गरी डिसेम्बर १५ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसपछि डिसेम्बर १७ का दिन उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्ने मौका दिइनेछ भने डिसेम्बर १८ तारिखका दिन अन्तिम उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मतदान डिसेम्बर २६ नेपाली समयअनुसार बिहान ८ बजेदेखि भोलिपल्ट बिहान ७ बजेर ५९ मिनेट जाँदासम्म गर्न पाइनेछ । यसपटक अनलाइन मतदान हुनेछ ।

यसअघि अक्टोवरमै सम्पन्न हुनुपर्ने चुनाव परराष्ट्र मन्त्रालयको निर्देशनपछि रोकिएकोमा हालै उच्च अदालत पाटनको आदेशपछि चुनावी प्रक्रिया शुरु भएको हो ।