८ बैशाख २०८१, शनिबार
Follow Us

चेल्सी, सिटी र लिभरपुलको जित

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७८, बिहीबार ०४:१७

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् । राति भएको १४औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २–१ अन्तरले पराजित गर्‍याे । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३औँ मिनेटमा सान्त्वना गोल गरे ।

अर्काे खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७औँ र बर्नाण्डो सिल्भाले ४३औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

लिभरपुलले घरेलु टोली एभर्टनलाई २–१ ले पराजित गर्‍याे । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १-१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २-२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १-१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो । खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ ।

कप्तान बेन्जेमाको गोलमा रियल विजयी
कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल म्याड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १-० अन्तरको जित निकालेको हो । बेन्जेमाले पहिलो हाफको ४०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै रियलको १५ खेलबाट ३६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड र रियल सोसिडाडको समान २९ अंक छ । एट्लेटिकोले एक खेल कम खेलेको छ ।

पीएसजी रोकियो,
फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार चोटका कारण उपलब्ध नभएको खेलमा पीएसजी घरेलु मैदानमा निससँग गोलरहित बराबरीमा रोकिएको हो ।

पार्क डेस प्रिन्सेसमा बल पोसेसन बलियो बनाएपनि पीएसजी गोल गर्न असफल भएको हो । भर्खरै सातौं पटक कीर्तिमानी बोलोन डि ओर जितेको मेस्सीसहित केलियन एम्बाप्पे र एन्जन डि मारिया अग्रपंक्तिमा गोल गर्न चुकेका थिए । बराबरीसँगै पीएसजी १६ खेलबाट ४१ अंक साथ शीर्ष स्थानमा छ । निस २७ अंक जोडेर चौथो स्थानमा छ ।