१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस गण्डकीमा पौडेल समूहको वर्चश्व

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७८, आईतवार ०५:०२

पोखरा । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा पौडेल पक्षले कब्जा जमाएको छ । यहाँ पदाधिकारीका अधिकांश पदमा संस्थापन इतरका नेताहरु विजयी भएका छन् । सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी भए । शर्माले ६ सय १२ मत पाउँदा संस्थापन पक्षका अर्जुन ५ सय २८ मत मात्रै पाए ।

उपसभापतिमा दुइटै स्याङ्जाका उम्मेद्वार विजयी भएका छन् । संस्थापन पक्षबाट मेखलाल श्रेष्ठ र संस्थापन इतरबाट कल्पना तिवारी विजयी भए । संस्थापन पक्षकै नेत्र महत र संस्थापन इतरका हरिप्रसाद श्रेष्ठ पराजित भएका छन् । गण्डकीको पदाधिकारीमा संस्थापन पक्षबाट मेखलालमात्रै विजयी भएका हुन् । तिवारीको ६२४ मत आउँदा दोस्रो बनेका श्रेष्ठको ५५६ मत छ । तेस्रो बनेका हरिको ५४८ तथा अन्तिम भएका नेताको ४५७ मत आएको छ ।

महामन्त्रीमा अन्तिम अवस्थामा विष्णु लामिछानेले लिड गर्दै देउवा पक्षका उम्मेद्वारलाई हराए । पहिलोमा किरणबावु श्रेष्ठले ५७३ मत र दोस्रो बनेका विष्णुको ५६७ मत आएको छ । तेस्रोमा कुमार खड्काको ५५६ र चौंथो भएका इश्वर पाण्डेको ४७३ मत आयो । ११ सय मत गन्दा दोस्रोमा कुमार खड्का थिए ।

सहमहामन्त्रीका पनि सबै पदमा पौडेल पक्षले जितेको छ । महिला सह महामन्त्रीमा कोपीला रानाभाट ५५२ मत सहित विजयी हुँदा संस्थापन पक्षकी ओमकला गौतम ४८८ मत सहित पराजित भइन् । खुला सहमहामन्त्रीमा रमेश कुमार सर्वाधिक भोट ल्याएर विजयी भएका छन् । उनले ६१८ मत पाएका हुन् । ५६९ मत ल्याएर दोश्रो हुँदै रामचन्द्र जोशी पनि विजयी भएका छन् ।

संस्थापन पक्षका झुलबहादुर आलेले ४८८ र राजराज पन्तले ४३१ मत पाए । गोरखाबाटै राजनको वागी उठेका युवराज बस्ताकोटीको ९२ मत छ । सदस्यहरुमा पनि पौडेल पक्ष नै अगाडि छ । अहिलेसम्म ३ सयमात्रै मत गणना भएको निर्वाचन कमिटीले जनाएको छ ।