१३ बैशाख २०८१, बिहीबार
Follow Us

काँग्रेस बागमती प्रदेश सभापतिका लागि बानियाँ र केसीबीच प्रतिश्पर्धा, भिमसेनदासको समर्थन बानियाँलाई

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७८, आईतवार ०९:४१

हेटौँडा । नेपाली काँग्रेसको हेटौँडामा जारी बागमती प्रदेशको प्रथम अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । प्रदेश सभापतिमा तीन जनाबीच प्रतिस्पर्धा भएकोमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।

काँग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । बढी मत ल्याउन ईन्द्रबहादुर बानियाँ र जगदिशनरसिंह केसीबीच सभापति पदका लागि मतदान हुने भएको छ ।

आज सार्वजनिक भएको मत परिणामअनुसार बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत प्राप्त गर्नुभएको थियो । १० मत बदर भएको छ । काँग्रेस प्रदेश निर्वाचन समितिका संयोजक केशवप्रसाद काफ्लेले पुनः मतदान कार्य ११ः३० बजेबाट सुरु हुने जानकारी दिनुभयो ।

प्रदेश सभापतिलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको शनिबार भएको मतदानमा दुई हजार १५१ जना मतदातामा २०७१ मत खसेको थियो । सभापतिका लागि मतदान सकिएपछि कार्यसमितिका उपसभापति, महामन्त्री, सहमहामन्त्री र कार्यसमितिका लागि भएको मतदानको मतगणना गरिने समितिका संयोजक काफ्लेले जानकारी दिनुभयो । प्रदेश सभापतिमा देउवा पक्षबाट बानियाँ, पौडेल पक्षबाट केसी र सिटौला पक्षबाट प्रधानले प्यानलसहित उम्मेदवार बन्नुभएको थियो ।

प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीबीच प्रतिस्पर्धा भएको छ । दुई जना महामन्त्रीका लागि कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठलेले उम्मेदवार रहनुभएको छ । सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङ उम्मेदवार रहनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

यसैगरी खुलातर्फ दुई जना सहमहामन्त्रीमा ऋषिराम घिमिरे, जगन्नाथ धिमाल, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाबीच चुनावी प्रतिस्पर्धाभएको छ । प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले सभापतिसहित विभिन्न पदमा गरी २५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको बताउनुभयो ।

९१ सदस्यीय कार्यसमितिमा पदाधिकारी बाहेक हरेक जिल्लाबाट, खुला, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, खसआर्य गरी ८३ जना कार्यसमिति सदस्यका लागि निर्वाचन भएको छ ।

भिमसेनदास प्रधानको समर्थन इन्द्र बानियाँलाई
नेपाली काँग्रेस बागमती प्रदेशको सभापति पदका लागि भएको पहिलो चरणको निर्वाचनमा तेश्रो स्थानमा रहनुभएका नेपाली काँग्रेसका नेता भिमसेनदास प्रधानले दोश्रो चरणमा इन्द्र बानियाँलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । प्राकृतिक सिद्धान्तको आधारमा इन्द्र बानियाँले सबैभन्दा धेरै मत ल्याएको हुनाले उहाँलाई समर्थन गर्ने निर्णय भएको नेता प्रधानले जानकारी दिनुभयो ।