१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल एयरलाइन्सको दुबईमा नौ उडान

नेपालब्रिटेन डट कम्
१९ मंसिर २०७८, आईतवार १३:५७

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ। एयरलाइन्सले दुबईमा सातामा सात उडान गर्दै आएकामा आजदेखि थप दुई उडान थपेर सातामा नौ उडान भर्ने भएको हो।

दुबईमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ। यो गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा सात उडान गर्दै आएको थियो। थपिएको उडान साताको आइतबार र बुधबार गरिनेछ। यो दिन दैनिक दुई उडान हुनेछ।

काठमाडौँबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर साँझ काठमाडौँ नै फर्किने छ। व्यापारिक हिसावले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ। एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ। एयरलाइन्सले हाल दोहामा पाँच उडान गरिरहेको छ।

नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ। निगमकाअनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ। महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ। नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ। निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन्।