१५ बैशाख २०८१, शनिबार
Follow Us

युभेन्ट्स विजेता, १७ वर्षपछि बार्सिलोना समूह चरणबाटै बाहिर

नेपालब्रिटेन संवाददाता
२३ मंसिर २०७८, बिहीबार ०३:१४

काठमाडौं । साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍याे । घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो । समूहको अर्काे खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो ।

चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।

१७ वर्षपछि बार्सिलोना समूह चरणबाटै बाहिर
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । सन् २००३-०४ पछि पहिलो पटक बार्सिलोना अन्तिम १६ मा स्थान बनाउन असफल भएको हो । यसै वर्ष आर्थिक समस्याका कारण स्टार खेलाडी लियोनल मेस्सीलाई गुमाएको बार्सिलोनाको लागि यो अर्काे खराब स्थिति हो ।

बुधबार राति बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेलमा बार्सिलोना ३-० ले पराजित भयो । समूह ‘इ’कै अर्काे खेलमा बेन्फिकाले ड्यनामो केईभलाई २-० अन्तरले पराजित गरेपछि पूर्वखेलाडी जाभि होर्नाण्डेजको बार्सिलोना १७ बर्षपछि च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिन बाध्य भयो ।

बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे । ३४औँ मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ४३औँ मिनेटमा सानेले गोल गर्दै अग्रता दोहोरो बनाए । ६२औँ मिनेटमा जमलले गोल गर्दै बायर्नलाई ३-० अन्तरको जित दिलाए ।

समुहको अर्काे खेलमा बेन्फिकाले ड्यनामोलाई २-० अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । बेन्फिकाको जितमा रोमन यारेमचुक र गिल्बर्टाे जुनियरले गोल गरे ।

जितसँगै बायर्नले ६ खेलबाट अपराजित रहँदै १८ अंक जोडेर शीर्ष स्थानमा रह्यो । बेन्फिका ८ अंक बनाउँदै दोस्रो स्थानमा रहँदै उपविजेता भयो । ७ अंक भएको बार्सिलोना र १ अंकको ड्यनामो भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिए ।