१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतका चार पत्रकारलाई बिएनसिसी सम्मान

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७८, शुक्रबार १८:५९

लन्डन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) ले बेलायतमा कार्यरत चार नेपाली पत्रकारलाई सम्मान गरेको छ ।

बिहीबार बेलुका लन्डन इलिङस्थित हिल्टन होटेलमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो।

बिएनसिसीको सम्मान प्राप्त गर्नेहरुमा पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी र निवर्तमान सचिव डा जगन कार्की छन् ।

उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल र बिएनसिसी अध्यक्ष डा कपिल रिजालले सम्मानपत्रसहित सम्मान गरेका थिए ।

बेलायतमा रहेर मिडियाको क्षेत्रबाट नेपाल र नेपाली समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकारहरुलाई यो सम्मान गरिएको हो ।

सम्मानित पत्रकारहरुमध्ये अर्याल अन्नपूर्ण पोस्टका बेलायत संवादाता तथा बेलायतबाट सञ्चालित नेपाली लिंकका सम्पादक हुन् । त्यस्तै, पत्रकार पोखरेल विगत डेढ दशकदेखि कान्तिपुर दैनिकमा आबद्ध रहेर बेलायतबाट सक्रिय छन् । उनी नेपाली लिंक अनलाइनका प्रधान सम्पादक पनि हुन् ।

त्यसैगरी पत्रकार भण्डारी लन्डनबाट सञ्चालित लन्डननेपालन्यूजका प्रधान सम्पादक हुन् भने डा कार्की ग्लोबलनेप्लिज डटकम र साउथ एशिया टाइम अनलाइनसँग आबद्ध छन् ।

सोही अवसरमा बिएनसिसीले बेलायतमा नेपाली कला, संस्कृतिको प्रवर्द्धनमा योगदान गरेबापत तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, चर्चित गायक तथा डिजे सपनकुमार राई र बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठलाई सम्मान गरेको छ ।

त्यसैगरी, बिसीसी यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय अभियन्ता नवीन गुरुङ, पासापुच यूकेका अध्यक्ष ओजेश सिंह र फोटोग्राफर/ डिजाइनर सुमन श्रेष्ठलाई पनि बिएनसिसीका तर्फबाट सम्मान गरिएको थियो ।

बिएनसिसी अध्यक्ष डा कपिल रिजालले अध्यक्षता र उपाध्यक्ष विराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बेलायती सांसद जेन हन्टसहित बेलायती तथा नेपाली बिजनेस कम्युनिटीका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।