७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन अनिश्चिकालको लागि स्थगित

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७८, बुधबार १७:५२

लण्डन। गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो ।

यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता सूची पूर्ण रुपमा उपलब्ध भइनसकेकाले यसअघि प्रकाशित कार्यतालिका स्थगन गरिएको जनाएको छ ।

त्यस्तै, वर्तमान समस्या समाधानका लागि चार सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । अध्यक्ष कुमार पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गर्नु भएको हो ।

अध्यक्ष पन्तद्वारा हस्ताक्षरित पत्रमा विद्यमान समस्या समाधानका लागि छलफल जारी राखेको बताउँदै समिति गठन गरिएको उल्लेख छ । सबै पक्ष सँग संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गरिएको पत्रमा उल्लेख छ ।

समितिमा संघका केन्द्रीय सल्लहाकार विश्व आदर्श पण्डित, डा यादव पण्डित, सचिव गौरि जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।