१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गुरुङको मौलिक संस्कृतिमाथि बन्यो फिच्यो

नेपालब्रिटेन संवाददाता
२ पुष २०७८, शुक्रबार ०३:५४

काठमाडौं । गुरुङ समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, भेषभुषा तथा कला संस्कृतिमाथि आकर्षण गर्न निर्देशक विकाश घले गुरुङले गुरुङ भाषाको नयाँ चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ तयार गरेका छन् ।

पश्चिमा संस्कृतिको अतिक्रमणसँगै गुरुङ समुदायले आफ्नो संस्कृति विर्सन थालेको चिन्ताले निर्देशक गुरुङलाई सताउँदै आएको थियो । केही वर्ष नेपाल प्रहरीमा कलाकारको रुपमा काम गरेपछि अमेरिका गएका घले अमेरिकामै बस्दै आएका छन् ।

बिदेशमा आफ्नो समुदायको संस्कृति तथा चाडपर्वलाई निकै महत्व दिए पनि नेपालमा नयाँ पुस्ताले यसलाई वेवास्ता गरेको विकाशको कथन छ । सोही कारण गुरुङ संस्कृति जोगाउन आफुले यो चलचित्र नेपाल आएर बनाएको उनले सञ्चारकर्मीलाई बताएका छन् ।

गुरुङहरुको मुख्य पर्व तमु ल्होसारको अबसर पारेर उनले चलचित्र ‘फिच्यो’को विशेष प्रदर्शन काठमाडौंमा गर्दैछन् । सार्वजनिक प्रदर्शन अगाडि यो चलचित्र नेपाल र अमेरिकामा एकसाथ बिषेश प्रदर्शन गर्न लागिएको पनि निर्देशक गुरुङले बताए ।

विकाशका अनुसार ल्होसारको अवसर पारेर ३ पुसमा काठमाडांैको रानीदेवी पार्टी प्यालेस सहित युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिकाले अमेरिकामा यो चलचित्रको विषेश प्रदर्शन गर्दै छ ।

उनका अनुसार यो चलचित्र नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । गुरुङ भाषा नबुझ्ने नयाँ पुस्ता तथा गैर गुरुङका लागि सहज होस भनेर अन्य भाषामा सबटाईटल राखेको गुरुङले बताएका छन् ।

यो चलचित्रमा विश्वास गुरूङ, ईन्द्र घले(काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घलेलगायतको अभिनय छ ।