१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल भारतसँग पराजित

नेपालब्रिटेन संवाददाता
४ पुष २०७८, आईतवार १४:२२

काठमाडौं । बंगलादेशमा जारी १९ वर्षमुनीको साफ महिला फूटबल च्याम्पियनसिप अन्तर्गत लीग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग १९० गोलले पराजित भएको हो । भारतको जितमा १ मात्र गोल प्रियंका देवीले गरिन् ।

पहिलो हाफमा पाएका केहि राम्रा अबसर सदुपयोग गर्न नसकेको भारतले दोस्रो हाफमा अग्रता लिएको हो । खेलमा बल पकड कायम राखेको भारतले गोलका लागि ६७ औं मिनेटसम्म कुर्नुपर्‍यो । गोलकिपर अन्जना रानामगरले रिलिज गरेको बल नियन्त्रणमा लिँदै मुभ बनाएको भारतका लागि प्रियंकाले अग्रता दिलाएकी हुन् । पेनाल्टी एरियामा सुमती कुमारीको पासमा अनमार्क रहेकी प्रियंकाले वान टचमा सुन्दर गोल गरिन् ।

जितसँगै भारत ९ अंक जोड्दै फाइनल प्रवेश गरेको छ । ७ अंक रहेको नेपाललाई भने फाइनल प्रवेशका लागि अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । आजै हुने अन्तिम खेलमा घरेलु टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

बंगलादेशको पनि ७ अंक छ भने तालिकाको पुछारमा रहेको श्रीलंका अंकविहीन छ । यस्तोमा त्यस खेलमा बंगलादेश पराजित भएमा नेपाल उपविजेता बन्दै फाइनल प्रवेश गर्नेछ । तर जारी प्रतियोगिताकै कमजोर श्रीलंका घरेलु टोलीसँग बराबरीमात्र खेलेपनि नेपालको फाइनल सम्भावना सकिनेछ ।