७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली महिला भलिबल टोली फाइनलमा

नेपालब्रिटेन संवाददाता
११ पुष २०७८, आईतवार ११:५८

काठमाडौं । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ ।

बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे । साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३-२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताका लगातार चौथो जित निकालेको हो ।

नेपाल चार खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । नेपालले सोमबार किर्गिस्तानको सामना गर्नेछ । खेल दिउँसो ११ः१५ मा हुनेछ ।

उज्वेकिस्तानको यो पहिलो हार हो । प्रतियोगितामा उज्वेकिस्तानले माल्दिभ्स, बंगलादेश र किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । उज्वेकिस्तानले समान चार खेलमा ९ अंक र श्रीलंकाले १० अंक बनाएको छ ।

सोमबार श्रीलंका र उज्वेकिस्तानको विजेताले फाइनलमा उपाधिका लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र उज्वेकिस्तानको खेल बिहान ९ः१५ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।

बिहीबारदेखि ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा जारी प्रतियोगितामा महिलातर्फ साविक विजेता नेपालसहित आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, उज्वेकिस्तान र श्रीलंकाको टोली सहभागी छन् ।