१३ बैशाख २०८१, बिहीबार
Follow Us

तमुधिं यूकेले मनायो ल्होछार

नेपालब्रिटेन डट कम्
१२ पुष २०७८, सोमबार २०:५५

प्रकाश गुरुङ ।
लन्डन । तमुधिं यूकेले विभिन्न कार्यक्रमसहित २१ औं ल्होछार मनाएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार विशेष कार्यक्रम आयोजना गरी ल्होछार मनाइएको हो । अब नयाँ वर्ष तो ल्हो (बाघ वर्ग) लाई स्वागत गरिएको छ ।

बेलायतमा केही महिनायता कोरोना भाइरसको प्रकोप अति नै बढेको छ । एकै दिनमा १ लाखभन्दा बढीमा पोजिटिभ भएको र दिनहुँ १०० जनाभन्दा बढीको मृत्यु भएको तथ्यांक सार्वजनिक भइरहेको छ । यस्तो विषम परिस्थितिमा पनि तमुधिं यूकेले पूर्वनिर्धारित ल्होछार कार्यक्रम सरकारको नियम पालना गर्दै सफलतापूर्वक सम्पन्न गर्‍यो ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल थिइन् । त्यस्तै गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहा मगर, निवर्तमान अध्यक्षहरु पुनम गुरुङ, योगेन क्षेत्री, मे.रि. डमर घले एमबीई, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष ध्रुवराज अर्याल, तमुधिं यूकेका संस्थापक अध्यक्षदेखि प्राय: सबै निवर्तमान अध्यक्षहरु, काउन्सिलरहरु, विभिन्न संघसंस्थाका अगुवाहरु, तमुधिं एकाईका अध्यक्ष र आमा समूहको उपस्थिति थियो ।

असंख्य पाहुनाहरुको उपस्थितिले कार्यक्रममा रौनकता थपेको थियो । पाईपर कृष्ण राईको मीठो ब्याक पाईपको धुनसँगै प्रमुख अतिथि खनाल रातो कार्पेटमा पाइला राख्दै हलमा प्रवेश गरेको दृश्यले कार्यक्रमको सुरुवात सभ्य र भव्य महसुस गरिएको थियो । सुरक्षा नियमको वर्णन कृष्ण गुरुङले गरेका थिए ।

कार्यक्रम विधिवत रुपमा सुरु गर्न प्रमुख अतिथि खनाल, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष मन्जु गुरुङ र उपाध्यक्ष एवं कार्यक्रम संयोजक जुमकाजी गुरुङले दीप प्रज्ज्वलन गरे ।

सो क्रममा नेपाल र बेलायतको राष्ट्रिय गान र तमुहरूको गान बजाइएको थियो । कोरोना कहर र अन्य कारणले दिवंगत सदस्यहरुप्रति चीर शान्तिका लागि दुई मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रम संयोजक तथा तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत गरेका थिए । त्यसक्रममा गुरुङले भने, ‘कति करैले आउनुभएको छ । कति कोरोनाको डरैले आउनु भएन । जति रमाइलो गर्न आउनुभएको छ, सरकारको नियम पालन गरी रमाइलो गरौं र सुरक्षित भएर घर फर्कौं । सम्पूर्णलाई ल्होछार २०२१ को कार्यक्रममा स्वागत र धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा यूकेवासी गुरुङहरुको मुखपत्र ‘फ्रेंसी २०२१’ लोकार्पण प्रमुख अतिथि खनाल र अन्य अतिथिहरुबाट भयो । फ्रेंसीका प्रमुख सम्पादक एकेन्द्र गुरुङले भने, ‘यो हाम्रो दस्तावेज हो । ऐना हो । सबै तमुहरुको विचार र यथार्थ समेटिएको पुस्तक हो ।’

त्यस्तै कार्यक्रममा विभिन्न पुरस्कार वितरण, सम्मान गरिएको थियो । जसअनुसार शिक्षामा उच्च नतिजा प्राप्त गरेका गुरुङ छात्रछात्रामध्ये एक जनालाई बर्सेनी दिने ‘स्व. डा. हर्क गुरुङ अवार्ड’ यसपाली यमुना गुरुङ र सबिन गुरुङका छोरा नोम गुरुङले हात पारेका छन् । उनले मेडिष्टोन ग्रामर स्कुलबाट जीसीएसईमा १० वटा ए-स्टार र वान-ए हासिल गरेका हुन् । उनले पुरस्कारबापत ५०० पाउन्ड र ट्रफी पाएका छन् ।

वर्षभरिमा समाजसेवा गरेका तमुहरुलाई “कम्यूनिटी सर्भिस अवार्ड” दिइएको थियो । अवार्ड पाउनेमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, तमुधिं लन्डन एकाईका हेलिशा गुरुङ, बिनु गुरुङ, साउथ ईष्ट लन्डन तमुधिका अर्चना गुरुङ, सूर्य गुरुङ, तमुधिं ह्याम्पसयर एकाइका लिना गुरुङ, ध्रुव गुरुङ, चार भञ्ज्याङ तमु समाज यूकेका दुर्गा गुरुङ र बेन कुमार गुरुङ थिए ।

कार्यक्रमकी प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालले तमुधिं यूकेले विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, भाषा, भेषभूषा संरक्षणको कार्यलाई निरन्तरता दिएकोमा प्रशंसा गरिन् ।

वर्षेनी नेपाली मेला, गोर्खाकपजस्ता ठूला इभेन्टहरु आयोजना गरी तमुधिं यूकेले बेलायतमा नेपाल र नेपालीकै प्रतिष्ठा बढाउने काम गरिरहेको उनले बताइन् ।

संस्थाले नेपालमा विभिन्न परोपकारी कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै कार्यवाहक राजदूत खनालले तमुधिं यूकेजस्तो

बेलायतकै प्रभावशाली संस्था व्यापार तथा लगानी प्रवर्द्धनमार्फत् नेपालको आर्थिक विकास र समृद्धिको पनि साझेदार बन्नेतर्फ अघि बढ्न आग्रह गरिन् ।

यस्तै आयोजक तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले कोभिड महामारीको कारण उत्पन्न असहज परिस्थितिमा पनि संस्कृति जगेर्नाको उद्धेश्यले कार्यक्रम राखिएको जानकारी गराए । कार्यक्रम सफल पार्न सहयोगी एवम् सहभागी सबैमा उनले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

तमुधिं यूकेले पहिलो पटक आफ्नो लाइफ मेम्बरहरुलाई नि:शुल्क प्रवेश र खाना उपलब्ध गराएको थियो । अन्य सदस्यहरुलाई पनि प्रवेश शुल्क न्यूनमात्र लिइएको आयोजकले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षक नेपालबाट आमन्त्रित गायिका पवित्र गुरुङ थिइन् । गुरुङ नेपाली गीतहरु पस्किएर पवित्रले युकेवासी तमुहरुको मन जित्न सफल भइन् । नुवाकोटमा जन्मिएकी पवित्र क्लासिकल म्यूजिकको चौथो वर्षकी विद्यार्थी हुन् ।

पवित्रले नक्कली कान्छी, हे बाबा तिम्रो, ङ्ल ङोलो, तो तै ङोलोस्यो, लैंसार मुनसम्म, फूलको आँखामा, डाँडाघरे साइँली आदि धेरै चर्चित गीत गाएर सबैलाई नचाई छोडिन् ।

सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ र योगेश गुरुङले संचालन गरेका थिए । स्थानीय कलाकारहरुले पनि कला प्रस्तुत गरे ।

कार्यक्रममा हेलिसा, बिनु र पुनमले नृत्य प्रस्तुत गरेका थिए भने रश्ना गुरुङले “फूल बुटे सारी” गीत गाएकी थिइन् । सयपत्री कल्चर ग्रुपको पनि प्रस्तुति थियो ।

तमुधिं यूके उपाध्यक्ष गुरुङका अनुसार विभिन्न व्यवसायहरु पिपल मोर्गेजेज्, आइएमइ लण्डन, गोर्खा ट्राभल्स, पेपरवर्क सोलुसन, गोर्खा मोर्गेजेज, एशिया ओरिन्टल, बर्मा ज्वेलरिज्, एभरेष्ट क्यास एण्ट क्यारी, आईडिया फर नेपाल, एम्पाएर बनक्युटिङ एण्ड हल, चाइना ओरनटियल र हाइट्स मोर्गेजेजबाट स्पोन्सर प्राप्त भएको थियो । ।

‘राफल ड्र’ का लागि पहिलो पुरस्कार एक तोला सुन बर्मा ज्वेलरिजका मोहन गुरुङबाट, दोस्रो र तेस्रो पीपल मोर्गेजेज र चाइना ओरनटियलले प्रायोजन गरेका थिए । एक तोलाको पहिलो पुरस्कार समाजसेवी मन्जु गुरुङ राईले हात पारिन् ।


मुख्य कार्यक्रमको संचालन महासचिव परशुराम गुरुङले गरेका थिए । कार्यक्रम सफल बनाउन आमा समूहको उल्लेख्य योगदान थियो ।

त्यस्तै मिडिया सेक्रेटरी एसके गुरुङ, डिजे सपनकुमार राई र स्वयंसेवकहरु सुरुवातदेखि कार्यक्रम समापनसम्म खटिएका थिए ।

तस्विर- मिलन तमु